कांग्रेस सभापति थापाको प्रश्न- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

उनले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा आइतबार राति भएको घटनाप्रति दु:ख व्यक्त गर्दै र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Congress President Thapa's question: Why did the situation arise where it was necessary to open fire, resulting in the loss of citizens' lives?

What you should know

काठमाडौं — कांग्रेस सभापति गगनकुमार थापाले कप्तानगञ्जमा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो भनेर सरकारसँग प्रश्न सोधेका छन् । उनले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा आइतबार राति भएको  घटनाप्रति दु:ख व्यक्त गर्दै र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । 

सोमबार विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, सरकारसँग प्रश्न छ-नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्‌भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो । परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु सरकारको गम्भीर सुरक्षा कमजोरी हो ।सरकारले यसको जवाफ दिनुपर्छ, घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ । सुरक्षा निकायका प्रमुख परिवर्तन मात्र होइन् छानबिन सही र निष्पक्ष हुनुपर्छ ।'

उनले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग पनि गरेका छन् ।उनले घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ नगर्न र अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गर्न जोड दिएका छन् । 

उनले आम नागरिकलाई पनि संयमता र सदभाव कायम राख्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएकए छ- कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकुल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गर्दछु ।

कान्तिपुर

Link copied successfully