कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।
काठमाडौँ — नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ ।
प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमतिपत्रमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् । सहमति पत्रअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख छ।
बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरिएको सहमतिपत्रमा उल्लेख छ।
