एमाले-नेकपा सहमतिपछि कांग्रेस उपसभापति शर्माले भने - 'हामी शतप्रतिशत गल्ती गर्न सहमत भएनौं' 

शर्माले पछिल्लो समय नेपाली राजनीतिमा 'जसरी पनि सत्ता' भन्ने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गर्दै त्यसविरुद्ध कांग्रेसले फरक राजनीतिक सन्देश दिएको दाबी गरेका छन्।

श्रावण ९, २०८३

कुलचन्द्र न्यौपाने

After the UML-NCP agreement, Congress Vice President Sharma said, ”We did not agree to make a hundred percent mistake.”

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सातै प्रदेशमा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउने प्रस्तावप्रति कांग्रेस सहमत नभएको बताएका छन्।उनले प्रदेशसभालाई प्रतिपक्षविहीनजस्तै बनाउने गरी तीन प्रमुख दलले सबै प्रदेशमा सरकार गठन गर्नु लोकतान्त्रिक अभ्यासका दृष्टिले 'शतप्रतिशत गल्ती' हुने भएकाले त्यसमा कांग्रेस सहमत नभएको स्पष्ट पारे।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले भने, 'शतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं ।'

शर्माका अनुसार शुक्रबार अपराह्न कांग्रेस सभापति गगन थापा, उपसभापति, महामन्त्री, कांग्रेसका चार मुख्यमन्त्री तथा प्रदेश सभापतिहरूसहित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस विषयमा एकमतका साथ स्पष्ट धारणा बनाएको हो।

उनले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिप्रति कांग्रेसको कुनै नकारात्मक टिप्पणी नरहेको पनि बताएका छन्। उनका अनुसार कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी शान्ति प्रक्रिया तथा संविधान निर्माणका सहयात्री दल भएकाले संविधान संशोधनलगायत राष्ट्रिय महत्त्वका विषयमा तीन दलसहित अन्य राजनीतिक दलबीच सहकार्य आवश्यक र स्वाभाविक हो।

तर प्रदेश सरकार गठनको सवालमा भने सबै प्रमुख दल सत्तामै रहने अवस्था उपयुक्त नहुने शर्माको भनाइ छ। 'प्रदेशसभालाई प्रतिपक्षविहीनजस्तै बनाएर सातै प्रदेशमा तीनवटै दल मिलेर सरकारमा बस्नु सतप्रतिशत गलत हुन्थ्यो,' उनले उल्लेख गरेका छन्।

शर्माले पछिल्लो समय नेपाली राजनीतिमा 'जसरी पनि सत्ता' भन्ने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गर्दै त्यसविरुद्ध कांग्रेसले फरक राजनीतिक सन्देश दिएको दाबी गरेका छन्।'सत्ता, सत्ता र सत्ता। जसरी पनि सत्ता। जेजस्तै सम्झौता गरेर पनि सत्ता। हाम्रो राजनीतिमा केही समययता नराम्ररी विकसित गलत प्रवृत्तिविरुद्ध नेपाली कांग्रेस फरक सन्देशका साथ उभिएको छ,' उनले भनेका छन्।

उनले आइतबार बिहान ९:३० बजे पार्टी केन्द्रीय कार्यालयमा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहित पुनः बैठक बस्ने जानकारी पनि दिएका छन्।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully