पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता दाहाले भने- बैरीहरू नेपालमा कम्युनिष्टहरूलाई ठिक पार्नुपर्छ भनेर २० वर्षदेखि योजना बनाएर भ्रममा पारिरहेका रहेछन् । हाम्रो गल्तीका कारण त्यो कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाए छन् ।
काठमाडौं — नेकपाका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको उनको भनाइ छ । उनले विदेशी शक्तिहरूले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमै थाहा नपाउँदा देश भूराजनीतिक संकटतर्फ उन्मुख भएको टिप्पणी पनि गरे ।
उनले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गरे । उनले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘संश्लेषित रुपमा भन्नुपर्दा हामी कम्युनिष्टहरूको गल्ती भयो ।हामीले विचारको स्कुलिङ निरन्तर युवापुस्तामा गर्नुपर्नेलाई ध्यान दिएनौँ । बैरीहरू नेपालमा कम्युनिष्टहरूलाई ठिक पार्नुपर्छ भनेर २० वर्षदेखि योजना बनाएर भ्रममा पारिरहेका रहेछन् । हाम्रो गल्तीका कारण त्यो कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन् । मैले जनताको अपमान गर्न खोजेको होइन ।कस्तो अफिम सोसियल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसनको ।’
सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिष्ट शक्तिहरुले वैचारिक अभियान सञ्चालन गर्नुपर्ने उनदे जोड दिए ।उनले वाम एकताको दिगोपनको सुनिश्चितता नगरिकन वाम एकता सम्भव नभएको पनि बताए ।
