चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास

पार्टीका एक उच्च नेताका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सभापति लामिछानेको भेट गराउने वातावरण बनाउन चिनियाँ पक्षसँग आग्रह गरिएको छ ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Rabi Lamichhane preparing for China visit, seeking a meeting with President Xi Jinping

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा उनी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ जाने कार्यक्रम तय भएको उच्च स्रोतले जनाएको छ । हाललाई साउनको अन्तिम साता भ्रमणको मिति तय भनिएको भए पनि तलमाथि हुन सक्ने स्रोतले जनाएको छ ।

पार्टीका एक उच्च नेताका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सभापति लामिछानेको भेट गराउने वातावरण बनाउन चिनियाँ पक्षसँग आग्रह गरिएको छ । 'राष्ट्रपति सीसँग भेटका लागि चिनियाँ पक्षसँग समन्वय भइरहेको छ,' ती नेताले भने ।

रास्वपाका अनुसार भ्रमणका क्रममा दुई देशका राजनीतिक दलबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि फागुनको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेपछि सभापति लामिछाने जेठको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा गएका थिए । पाँचदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए भने भारतीय पक्षले उनको औपचारिक स्वागत गरेको थियो ।

जुनदेखि नै भ्रमणका लागि गृहकार्य भएको थियो । यसअघि जुलाईको तेस्रो हप्ता नै लामिछानेको भ्रमणको तयारी भए पनि चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेट निश्चित नभएपछि सारिएको थियो । 

कान्तिपुर

Link copied successfully