लोकतान्त्रिक व्यवस्था अपहरित भयो : ओली

एमाले अध्यक्ष ओलीले भने- 'चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन् तर लोकतन्त्र अपहरितको अपहरित छ ।'

श्रावण ७, २०८३

न्युज एजेन्सी नेपाल

Democratic system has been hijacked: Oli

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने उनको भनाइ थियो । चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुन सक्ने ओलीले बताए । विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै ओलीले नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।

गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनलाई उनले हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गरे ।

‘बलिदानपूर्ण लामो संघर्ष, त्याग र तपस्याबाट ल्याएको लोकतन्त्र वास्तवमा अपहरित भएको छ । आज लोकतन्त्रको सुदृढीकरण होइन लोकतन्त्रको वापसीको आवश्यकता छ,' उनले भने, 'चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन् तर लोकतन्त्र अपहरितको अपहरित छ । वास्तविक लोकतन्त्र छैन धेरै देशमा । हाम्रो देशमा पनि बोल्नको लागि जिब्रो चपाइरहनुपर्ने आवश्यकता छैन । भदौ २३, २४ मा जुन भयानक क्षति गराउने, मार्ने, मराउने, आगजनी गराउने कार्य भयो । राणा शासनका विरुद्धको संघर्षमा यस्तो भएन । राणाहरुका घर आगो लगाइएन । सात सालमा पनि दरबारहरू जलाइएन ।'

०६२/६३ को आन्दोलनमा पनि त्यस्तो नगरिएको उनले बताए । 'माओवादीले सत्ता कब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो तर यस्ता आगजनी, लुटपाट, तोडफोडका उपद्रवकारी, आतंकपूर्ण क्रियाकलाप गरेर समाजलाई आतंकको, भयको नियन्त्रणमा राख्ने क्रियाकलाप गरेन,’ उनले भने । सरकार समाजलाई आतंक र भयको नियन्त्रणमा राख्न उद्यत रहेको आरोप पनि ओलीले लगाए ।

न्युज

Link copied successfully