असन्तुष्ट पक्षले बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दा संस्थापन पक्षले जलवायु परिवर्तनबारे जनचेतना फैलाउन ‘ग्रीन रन’ आयोजना गर्यो।
What you should know
काठमाडौँ — २ फागुन २००३ मा टंकप्रसाद आचार्यलाई मानार्थ सभापति र बीपी कोइरालालाई कार्यकारी सभापति बनाएर नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । १७ पुस २००५ मा सुवर्णशमशेरको सक्रियतामा महेन्द्रविक्रम शाहको अध्यक्षतामा प्रजातन्त्र कांग्रेस गठन भयो । यी दुई दल २७ पुस २००६ मा एकीकृत भएर नेपाली कांग्रेस बन्यो । दुई दललाई एक ठाउँमा ल्याउनेमध्येका नेता थिए बीपी ।
६ साउन बीपीको स्मृति दिवस हो । बुधबार ४४ औं स्मृति दिवसमा भने कांग्रेस संस्थापन र असन्तुष्ट पक्षले स्मृति दिवसका अलग–अलग कार्यक्रम गरेर एकता होइन, विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा असन्तुष्ट पक्षले आयोजना गरेको कार्यक्रममा नेताहरूले तत्काल एकता नभए अलग पार्टी बनाउने उद्घोषसमेत गरे । त्यससम्बन्धी कार्यदिशा तय गर्न प्रज्ञा भवनबाटै आगामी २९ साउनमा काठमाडौंमा राष्ट्रिय भेला बोलाउने घोषणासमेत गरे ।
यता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने बीपी स्मृति दिवसमा दुईदिने कार्यक्रम तय गरेको छ । बुधबार जलवायु परिवर्तनबारे जनचेतना फैलाउन ‘ग्रीन रन’ आयोजना गरेको संस्थापन पक्षले बिहीबार बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समकालीन राजनीतिक चुनौतीबारे केन्द्रित विशेष कार्यक्रम गर्दै छ । कांग्रेसको विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक शक्ति संघर्ष ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन । विवाद बढ्दै जाँदा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरू अलग पार्टी निर्माणको गृहकार्यमा अग्रसर छन् ।
यसअघि देउवा पक्षको कार्यक्रममा सहभागी नहुने गरेका शेखर कोइराला बुधबारको कार्यक्रममा उपस्थित भए । यसलाई कांग्रेस नेताहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीबाहेक उनीनिकट अरूको उपस्थिति भने थिएन । कार्यक्रममा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायत नेताको पनि उपस्थिति थियो ।
नेता बद्री पाण्डेका अनुसार नेता शेखर कोइरालाले आफू कार्यक्रममा जाने जानकारी समूहका नेताहरूलाई गराएका थिए । ‘शेखर दाइले म जान्छु भन्नुभयो । जान्छु भनिसकेपछि हामीले रोक्ने कुरा भएन । तर हामी गएनौं,’ उनले भने, ‘हामीले शेखर दाइलाई विशेष महाधिवेशनमा गएका र नगएका बीच १५ औं महाधिवेशनमा भेटिने गरी एकता कायम गरिनुपर्छ भन्दै आएका हौं । नेताहरूले भूमिका खोज्दा पार्टी विभाजनमा लाने कि एकतामा जाने भन्ने प्रश्न नै अहम् बनेको छ ।’
बुधबारको कार्यक्रममा कोइरालाले पार्टी सभापति थापाको कार्यशैलीमाथि टिप्पणी गरेका थिए । उनले पार्टी हुकुमी शासनमा चल्न थालेको भन्दै कांग्रेस निरंकुशताको अन्त्यका लागि जन्मिएको प्रसंग उल्लेख गरे । ‘कांग्रेसभित्रै निरंकुशता जन्मिरहेको छ, त्यसको अन्त्य हामीले गरिरहनुपरेको छ,’ उनले भने । राष्ट्रिय भेला अगाडि पार्टी एकताको सहमति नभए आगामी राजनीतिक बाटो तय गर्ने, जसमा नयाँ दल गठनको विकल्पसमेत रहने असन्तुष्टि पक्षका नेताहरूको भनाइ छ । ‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं, राष्ट्रिय भेला गरेपछि हामी आफ्नो बाटो लिन्छौं,’ कार्यक्रमको सभापतित्व गरेका नेता प्रकाशमान सिंहले भने ।
विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्यसमितिमा देउवा, खड्का र नेता शेखर कोइरालाको समूह छैन । पहिले देउवा र कोइराला समूहमा रहेका कतिपय नेता केन्द्रीय कार्यसमितिमा मनोनयन भएका छन् । कोइराला आफैं भने पूर्ण रूपमा पार्टी एकता नभएसम्म आफू केन्द्रीय कार्यसमिति र देउवा–खड्का पक्षको भेलामा नजाने अडानमा थिए ।
अहिले विवादको मूल केन्द्रमा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा सामूहिक रूपमा समायोजन गर्ने कि नगर्ने भन्ने छ । पुरानो कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई एकै पटक समायोजन गर्दा भविष्यमा त्यही संख्याका आधारमा पुनः छुट्टै शक्ति केन्द्र निर्माण हुने, गुटगत राजनीति संस्थागत हुने र वैधानिक रूपमा नै पार्टी विभाजनसम्मको दबाब सिर्जना हुन सक्ने जोखिम हुने आकलन गर्दै संस्थापन पक्ष सामूहिक समायोजनको पक्षमा छैन ।
सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले सामूहिक समायोजन कुनै हालतमा नहुने बताए । ‘अहिले छुट्टै पार्टी बनेको होइन । विधि र विधानभित्र रहेर पार्टी सभापति, उपसभापति र अरू पदाधिकारीले एकताका लागि धेरै पहलकदमी गर्नुभएको हो । तर १४औं महाधिवेशनको समायोजनको कुराले नै सहमति हुन नसकेको हो,’ उनले भने, ‘समायोजन गर्ने कुरा पश्चगामी हो ।’
देउवा पक्षको नेतृत्व सम्हालेका नेता खड्काले आफ्ना लागि नभएर सम्मानजनक एकताका लागि मात्रै समायोजनको कुरा गरिरहेको बताए । ‘हामी कोही पनि निष्क्रिय बस्नेवाला छैनौं, युवालाई अघि सारेर उनीहरूको रक्षाकवज हुन तयार छौं,’ उनले भने, ‘हामीलाई केही चाहिएको छैन । यो भ्रम नहोस् । सम्मानका लागि पञ्चायतमा पनि लडेको हो । बरु मर्न तयार भइन्छ, सम्मानका लागि सम्झौता गर्न सकिँदैन ।’
संस्थापन पक्षले २०६४ मा कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच भएको पार्टी एकताको अनुभवलाई पनि अहिलेको बहससँग जोडेको छ । त्यतिबेला अपनाइएको ६०–४० को शक्ति बाँडफाँटको मोडलले कांग्रेसभित्र भागबन्डाको संस्कृति संस्थागत गरेको निष्कर्ष उनीहरूको छ । अहिले फेरि त्यही शैलीमा एकता गरिए समूहगत भागबन्डा अन्त्य नहुने र विशेष महाधिवेशनले अघि सारेको नयाँ राजनीतिक अभ्यास कमजोर हुने उनीहरू बताउँछन् ।
पुरानो संरचना र राजनीतिक विरासतलाई जस्ताको तस्तै नयाँ कार्यसमितिमा बोकेर हिँड्दा पार्टीले नयाँ सन्देश दिन नसक्ने निष्कर्ष पनि सभापति थापाको छ । विशेष महाधिवेशनबाट आएका केही पदाधिकारीमा पनि १४औं महाधिवेशनका सबै पदाधिकारी र सदस्यलाई समायोजन गरिए आगामी महाधिवेशनमा आफ्नो राजनीतिक भविष्य जोखिममा पर्ने चिन्ता देखिएको छ ।
यता देउवा–खड्का पक्ष भने सामूहिक समायोजन हुन सके आफ्नो राजनीतिक सान्दर्भिकता जोगिने देखिरहेको छ । व्यक्तिगत रूपमा समायोजन हुँदै गए समूह कमजोर बन्ने र पार्टीभित्रको राजनीतिक हैसियत खुम्चिने उनीहरूको निष्कर्ष छ । १४औं महाधिवेशन र विशेष महाधिवेशनको सामूहिक समायोजन वा महाधिवेशन निष्पक्ष र स्वतन्त्र बनाउन अधिकार सम्पन्न संयन्त्र बनाउने दुई विकल्पमध्ये एउटामा संस्थापन पक्ष तयार नभए आगामी राष्ट्रिय भेलाले आफ्नो बाटो समात्ने नेता प्रकाशशरण महतको भनाइ छ ।
पूर्वसभापति देउवा विदेशमै छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले छिट्टै नेपाल फर्कने बताएका छन् । देउवापक्षीय एक नेताका अनुसार २९ साउनको राष्ट्रिय भेलाकै अवसर पारेर देउवालाई स्वदेश ल्याउने तयारी भइरहेको छ । अहिले भइरहेका राजनीतिक गतिविधिसमेत देउवाकै परामर्शमा भइरहेको उनीपक्षीय नेताहरू बताउँछन् ।
२९ साउनअघि सहमति हुन नसके नयाँ राजनीतिक अभियान कसको नेतृत्वमा अघि बढ्ने भन्ने प्रश्न भने टुंगिएको
छैन । देउवा समूहभित्र धेरै नेताहरूले शेखर कोइरालाको नेतृत्वमा अघि बढे नयाँ राजनीतिक शक्ति निर्माण गर्न सहज हुने धारणा राखिरहेका छन् । तर कोइराला र खड्काले आफूनिकटका नेताहरूसँग पार्टी विभाजनको पक्षमा नरहेको धारणा राख्दै आएका छन् ।
कोइरालानिकट नेता पाण्डेले नयाँ पार्टीको नेतृत्व नै लिनेबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘हिजो विशेष महाधिवेशनमा नगएको पनि पार्टी विभाजन होला कि भनेर हो । जसरी हिजो गइएन, आज (बुधबार) को कार्यक्रममा शेखर दाइ गए पनि हामी गएनौं । कतै विभाजनको सहयात्री हामी पनि भइन्छ कि भन्ने लाग्यो,’ उनले भने, ‘हामीजस्ता मान्छे बीपी स्मृति दिवसजस्तो पवित्र दिनमा न यताको, न उताको भइयो । सानेपा (संस्थापन) ले पनि जाने वातावरण निर्माण गर्न सकेन, यता (देउवा पक्ष) पनि जान सकिएन ।’
कोइराला तयार नभए वैकल्पिक नेतृत्वका लागि पूर्वमहामन्त्री शशांक कोइरालाको नाम पनि चर्चामा छ । बीपी कोइरालाका पुत्र भएका कारण उनको नेतृत्वले कांग्रेसको परम्परागत मतदातामा प्रभाव पार्न सक्ने आकलन केही नेताले गरेका छन् । त्यस्तै विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि नेतृत्वमा रुचि देखाएका छन् ।
यही विवादका बीचमा पार्टी सभापति थापालाई भने पार्टी एकता गर्न नचाहेको आरोप लाग्दै आएको छ । खासगरी देउवा पक्षका नेताहरूले सभापति थापाले गम्भीर भएर छलफल अघि नबढाएको आरोप लगाउँदै आएका छन् ।
कांग्रेसका विश्लेषक पुरञ्जन आचार्य पार्टी एकताका लागि मुख्य पहल गर्नुपर्ने संस्थापन पक्षले बताउँछन् । संस्थापनले पहल नगरे पार्टी विभाजित हुन सक्ने उनको भनाइ छ । ‘बीपी स्मृति दिवसमा पार्टी एकताको सन्देश दिनुपर्नेमा अलग–अलग कार्यक्रम गरेर विभाजनको सन्देश दिनु पार्टी र मुलुककै लागि दुर्भाग्य हो,’ उनले भने ।
जसले जति जिम्मेवारी बोकेको छ, त्यसले एकताको पहल गर्नुपर्ने आचार्य बताउँछन् । ‘भइरहेको कांग्रेसलाई जोगाउने र नयाँ कांग्रेस पनि उत्पादन गर्ने दिशामा संस्थापन पक्षको ठूलो जिम्मेवारी छ,’ उनले भने, ‘बीपीले धेरै दुःखले आर्जेको पार्टी हो । यो चेतना भयो भने कांग्रेस विभाजनतिर लैजान सक्दैन । चेतनाविहीन छ भने विभाजन देखेर रमाउँछ ।’ आचार्यले ६ महिनादेखि जारी विवादलाई बीपी स्मृति दिवसकै दिन एकतामा रूपान्तरण गर्नुपर्ने अवसर नेतृत्वले गुमाएको टिप्पणी गरे ।
अर्का विश्लेषक गेजा शर्मा वाग्ले बीपीले जीवनभर पार्टी एकता, लोकतान्त्रिक मूल्य र विचारको राजनीतिमा जोड दिए पनि उनकै स्मृति दिवसमा कांग्रेस एउटै मञ्चमा उभिन नसक्नुले राजनीतिक र मनोवैज्ञानिक रूपमा विभाजनको सन्देश गएको बताउँछन् । ‘अहिले आत्मचिन्तन, आत्मसमीक्षा र आत्मालोचना गर्ने समय हो । तर एक समूहले यो वास्तविकता आत्मसात् गर्न सकेको देखिएन,’ उनले भने, ‘अहिलेको आवश्यकता भनेको व्यापक रूपमा पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गरेर नयाँ कांग्रेस बनाउने हो । अब शास्त्रीय चिन्तन र शास्त्रीय प्रवृत्तिले नयाँ कांग्रेस बन्दैन ।’ असन्तुष्ट पक्षले खोजेजस्तै गुटगत भागबन्डा र नेताको व्यवस्थापन गर्ने मुद्दाले पार्टी नयाँ नबन्ने उनको तर्क छ ।
