कांग्रेस केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना अनिवार्य : महामन्त्री पौडेल

पौडेलका अनुसार केन्द्रीय कार्यसमिति मात्र होइन, क्षेत्रीय प्रतिनिधिसहित पार्टीका विभिन्न संरचनामा पनि ३५ र ३० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान राखिएको छ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

21 Members Under 35 Mandatory in Congress Central Working Committee: General Secretary Paudel

काठमाडौँ — कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको नयाँ विधानमार्फत ३५ वर्षमुनिका २१ जनालाई केन्द्रीय कार्यसमितिमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको बताएका छन् ।

४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले कांग्रेसलाई युवामुखी, लोकतान्त्रिक र प्रविधिमैत्री संगठनका रूपमा रूपान्तरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका हुन् ।

पौडेलका अनुसार केन्द्रीय कार्यसमिति मात्र होइन, क्षेत्रीय प्रतिनिधिसहित पार्टीका विभिन्न संरचनामा पनि ३५ र ३० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान राखिएको छ।

उनले कांग्रेसको सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिँदै अब हरेक क्रियाशील सदस्यसँग डिजिटल आईडी हुने बताए। सदस्यता थप्न, सच्याउन र अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको भन्दै उनले १४औँ महाधिवेशनका बेला जति सदस्य थिए, अहिले पनि करिब त्यत्तिकै सदस्यता कायम हुने अवस्था बनेको बताए।

'नेपालमा सबैभन्दा धेरै सदस्य भएको डिजिटल पार्टी कांग्रेस बनेको छ,' उनले भने, 'सबै सदस्य एउटै डिजिटल नेटवर्कमा जोडिने भएकाले सूचना प्रवाह, सदस्यता व्यवस्थापन, पारदर्शिता र नेतृत्व–सदस्यबीचको समन्वय अझ प्रभावकारी हुन्छ।'

सामाजिक सञ्जालमार्फत पार्टीको दृष्टिकोण र रणनीति सदस्यसम्म पुर्‍याउन पनि डिजिटल प्रणालीले सहज बनाउने उनको भनाइ थियो।

महामन्त्री पौडेलले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा पनि सुधार गरिने जानकारी दिए। उनका अनुसार आगामी दिनमा उम्मेदवार प्राइमरी निर्वाचन (प्राइमरी इलेक्सन) बाट छनोट गरिनेछ। साथै, स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गरी सबै नेता तथा प्रतिनिधि तल्लो तहबाटै निर्वाचन लडेर आउने प्रणाली लागू गरिने उनले बताए।

कान्तिपुर

Link copied successfully