कांग्रेसको आन्तरिक विवाद बीपी स्मृति दिवसमा छताछुल्ल

४४औं बीपी स्मृति दिवसका अवसरमा कांग्रेस संस्थापन र असन्तुष्ट पक्षले अलग अलग कार्यक्रम आयोजना गर्दै उनीहरूले आ-आफ्ना राजनीतिक सन्देश प्रस्ट्याएका छन्

श्रावण ६, २०८३

कुलचन्द्र न्यौपाने

Congress’s internal dispute laid bare on BP Memorial Day

काठमाडौं — कांग्रेसको आन्तरिक विवाद ४४औं बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममार्फत छताछुल्ल भएको छ । संस्थापन र असन्तुष्ट पक्षले अलग अलग कार्यक्रम आयोजना गर्दै उनीहरूले आ-आफ्ना राजनीतिक सन्देश प्रष्टाएका छन् ।

असन्तुष्ट पक्षले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रम नेता शेखर कोइराला पनि सहभागी भएका छन् । यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षका कार्यक्रमहरूमा सहभागी नहुने गरेका कोइरालाको उपस्थितिलाई विशेष अर्थका रुपमा हेरिएको छ ।

कार्यक्रममा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला र विजयकुमार गच्छदारलगायत शीर्ष नेताहरूको उपस्थिति छ । विशेष महाधिवेशनपछि पार्टीभित्र बढेको मतभेदका बीच असन्तुष्ट पक्षहरूले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ । Congress’s internal dispute laid bare on BP Memorial Day

यता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने बीपी स्मृति दिवसलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ । बुधबार जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यसहित ‘ग्रीन रन’ आयोजना गरेको संस्थापन पक्षले बिहीबार बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनीतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्दैछ । त्यस कार्यक्रममा पार्टीका शीर्ष नेता, बुद्धिजीवी र शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ ।

विशेष महाधिवेशनपछि नेतृत्व, संगठन सञ्चालन र आगामी १५औं महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद गहिरिँदै गएको छ । असन्तुष्ट पक्षले पार्टी एकताको आधार कमजोर भएको भन्दै आजै  राष्ट्रिय भेलाको घोषणा गर्ने तयारी गरेको छ । 

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully