प्रहरी परिचालन, महिला संघको कार्यक्रम बिथोलियो
बारा — २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र कांग्रेसको विशेष महाधिवेशनयता कांग्रेस बारामा विवाद चुलिएको छ । विवादकै क्रममा पार्टी कार्यालय कलैयामा मंगलबार संस्थापन र असन्तुष्ट पक्षबीच झडप भएको छ।तनाव व्यवस्थापन गर्न व्यापक प्रहरी परिचालन गरिएको छ। चुनावपछि केन्द्रीय समितिबाट निलम्बनमा परेका पार्टी सभापति राजेश राय यादव र संस्थापन पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
यादव निलम्बनमा परेपछि पार्टी उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापति तोकिएको छ ।भट्टले सोमबार पार्टी कार्यालययमा जिल्लाका नेता-कार्यकर्तासँग छलफल गर्दै ७ साउनमा जिल्लाअन्तर्गत पार्टीको जरा अभियान समापन र बिहीबार बीपी जयन्ती मनाउने विषयमा छलफल गरी मंगलवार ११ बजे विहान विस्तारित बैठक आह्वान गरेका थिए ।यसैक्रममा जिल्ला महिला संघले पार्टी कार्यालयमा कार्यक्रम राखेको अवस्थामा दुबै पक्षबीच तनाव भएको पार्टीका जिल्ला सचिव भैयाराम यादवले बताए ।
प्रहरीले महिला संघको कार्यक्रममा कार्यालयमा सहभागीहरूलाई बाहिर निकालिरहेका छन् ।तनावका बीच महिला संघको कार्यक्रम बिथोलिएको छ ।विशेष महाधिवेशनपश्चात् २१ फागुनमा भएको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन तत्कालीन सभापति रायले सक्रिय भूमिका निर्वाह नगरेको आरोपमा केन्द्रीय अनुशासन समितिले उनलाई निलम्बन गरी भट्टलाई सभापतिमा तोकेको थियो ।यिनै विषयले यहाँ महाधिवेसनसँगै चुनावताकादेखि विवाद चुलिएको हो ।तत्कालीन सभापति राय देउवा पक्षीय हुन् भने भट्ट गगन थापा पक्षीय हुन् ।
