प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ । यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु : देउवा
काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले छिट्टै स्वदेश फर्कने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले स्वदेश फर्कने जानकारी दिएका हुन् । देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा हङकङमा बस्दै आएका छन् ।
सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भन्दै देउवाले आफू नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्ने बताएका छन् । उनले लेखेका छन्, 'राष्ट्रियता, प्रजातन्त्र र समाजबाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु ।'
इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको पनि देउवाको भनाइ छ । 'प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ । यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु,' उनले भनेका छन् ।
