प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, बरु कांग्रेस प्रतिपक्षमा बस्छ : उपसभापति शर्मा

प्रमुख दलहरू सबै एउटै सरकारमा सहभागी भएर प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउन नहुने भन्दै बरु त्यसका लागि कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको शर्माले बताए ।

श्रावण ४, २०८३

कुलचन्द्र न्यौपाने

Provincial assemblies should not be without opposition, instead Congress should sit in opposition: Deputy Speaker Sharma

What you should know

काठमाडौँ — नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रदेशसभाका प्रमुख राजनीतिक शक्तिहरु कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नै मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाएका छन् । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यस अघिदेखि नै एमाले अध्यक्ष केपी ओलीले प्रदेशसभाका तीन प्रमुख दल नै  मिलेर सत्ता साझेदारी गर्न गरिरहेको पहलप्रति संकेत गर्दै शर्माले आइतबार पत्रकार सम्मेलनमार्फत प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउन नसकिने बताएका हुन् । 

प्रमुख दलहरू सबै एउटै सरकारमा सहभागी भएर प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउन नहुने भन्दै बरु त्यसका लागि कांग्रेस नै सरकारमा नभएर प्रतिपक्षमा बस्न तयार रहेको शर्माले बताए । शर्माले यसअघि नै एमालेको राजीनितिक नीति र प्रदेश सरकारमा उसको भूमिकाले ‘उकुसमुकुस’ भएको भन्दै एमालेबाट अलग भएको उद्‌घोष गरेका थिए । 

त्यसपछि कांग्रेस र एमाले नेतृत्व प्रदेश सरकारमा निर्णायक रहेको नेकपासँग संवाद अघि बढाइरहेका छन् । तर, नेकपाले यस विषयमा औपचारिक धारणा बनाइनसकेका कारण प्रदेश सरकारको पुनर्गठनको विषय लम्बिएको छ । 

कांग्रेस नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् भने कर्णालीमा कांग्रेस र नेकपा मिलेर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अगाडि कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । उता सुदूरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेको असहयोगमा बजेट नै पारित नभएपछि ‘बजेट होलिडे’ सुरु भएको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै प्रदेश सभामा प्रतिपक्षको उपस्थिति लोकतान्त्रिक प्रणालीको अपरिहार्य आधार भएको उपसभापति शमाले बताए । उनले संविधान संशोधनको बहस चलिरहेका बेला संविधानको मूल मर्म नै कमजोर हुने गरी सबै प्रमुख दल एउटै सरकारमा सहभागी हुनु उपयुक्त नहुने धारणा राखे ।

‘कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन,' शर्माले भने, ‘प्रदेश सरकार गठन वा पुनर्गठनका क्रममा सबैको आत्मसम्मान र सहअस्तित्वलाई ध्यानमा राखेर राखेर नै संवादमार्फत समाधान खोज्छौं,’ उनले भने, ‘तर नागरिकको मतादेश, संविधानको मर्म र आम नागरिकको मनोविज्ञानको भावना विपरीत सबै प्रमुख दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता राख्दैन ।’

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ कार्यक्रम 

कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवसमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने नयाँ राजनीतिक अभियानको घोषणा गरेको छ । 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार बिहान ललितपुरको यूएन पार्कबाट ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गर्ने जनाएको हो । कांग्रेस उपसभापति शर्माले ‘ग्रीन रन’ कार्यक्रममा पार्टीका सभापति गगन थापासहितका नेता तथा पदाधिकारीहरुहरुपनि दौडमा सहभागी हुने बताए । 

उनका अनुसार साउन ६ गते जलवायु परिवर्तन केन्द्रित कार्यक्रम र साउन ७ गते राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी हुनेछ । 

कार्यक्रममा सभापति थापाले ‘जरा अभियान’ पछिको नयाँ अभियान घोषणा गर्ने कार्यक्रम छ ।

पार्टीले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने पनि जनाएको छ । उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुमवासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा सहयोग गरिने उल्लेख गरिएको छ ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully