एमाले अध्यक्ष ओलीले सरकारले मिटरब्याजपीडितसँग सम्झौता गरी धोका दिएको समेत आरोप लगाए ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदीय मोर्चालाई बलियो बनाउन निर्देशन दिएका हुन् ।
‘संसदमा कानुन बनाउन संख्या पुग्दैन होला तर सही कानुन बनाउन हाम्रा बहस, संशोधनबाट प्रकट हुनुपर्छ,’ उनले भने, ‘संसदीय भूमिका प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय तहमा विज्ञहरुको विभाग बनाइनेछ ।’
अध्ययन, अनुसन्धान गरी संसद्मा भूमिका खेल्न पनि उनले निर्देशन दिए । ‘अर्कोले खुलाइदिएका भरमा मात्र प्रभावकारी हुँदैन । विज्ञले बाटो देखाइदिने हो । सबै कुरा लेखेर दिन्छौं र संसदमा प्रस्तुत गर्ने भन्ने हुँदैन । आफ्नो संकल्प छ भने ज्ञान प्राप्त गर्न सक्छौं, ’ उनले थपे, ‘आफै चनाखो भएर, स्रोत हेरेर जानुपर्छ । पार्टी जनताका बीचमा पुग्ने र सम्बोधन गर्ने प्रयास गरे लोकप्रियता हासिल गर्न सक्छ ।’
उनले पार्टी नीति र सिद्धान्तका आधारमा संसद्मा भनाइ राख्न सुझाव दिए । ‘पार्टी, नीति, सिद्धान्त आधार बनाएर बोल्नुपर्छ । संख्या कति छ भन्ने कुरा होइन । समस्या जनताले उठाएका छन् । हामी सत्य र तथ्यका आधारमा कति जान्छौं,’ उनले थपे ।
सरकारले मिटरब्याजपीडितसँग सम्झौता गरी धोका दिएको पनि उनले आरोप लगाए । ‘मिटरब्याजपीडितलाई सरकारले एकपटक धोका दिएको छ । अलिपछि थाहा पाउँछन्,’ उनले भने ।
ओलीले सरकारले केही शीर्षकमा कर बढाएर गरिबलाई पीडा दिएको बताए । ‘मूल्यवृद्धि, कर वृद्धिले गरिबलाई डुबाउँछ,' उनले भने ।
