सभापति गगन थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे ।
काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दल मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।
आइतबार ललितपुरमा आयोजित सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारे ।
'परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहोर्याउँदैनौँ । तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौं । सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ,' उनले भने, 'चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको छ । सत्ताकेन्द्रित राजनीतिले कांग्रेस मात्र होइन, सबै पुराना राजनीतिक दललाई क्षति पुर्याएको छ ।'
