संयुक्त राजनीतिक संयन्त्र गठन गरे कांग्रेस असन्तुष्ट पक्षले केन्द्रीय कार्यसमिति समायोजनको माग छाड्ने

कांग्रेसले १५औं महाधिवेशन १६-१९ असोजमा काठमाडौंमा गर्दैछ । महाधिवेशनको सुरुवात २ भदौमा वडा अधिवेशनदेखि नै सुरु हुने तालिका छ ।

असार ३२, २०८३

कुलचन्द्र न्यौपाने

If a joint political mechanism is formed, the disgruntled faction of the Congress will drop the demand for central working committee adjustment.

What you should know

काठमाडौं — कांग्रेसको आसन्न १५औं महाधिवेशनलाई सबैले स्वीकार्नेगरी दुवै पक्ष समेटी राजनीतिक संयन्त्र गठन भए केन्द्रीय कार्यसमिति समायोजनको मागबाट पछि हट्न असन्तुष्ट पक्षका नेताहरू तयार देखिएका छन् ।

कांग्रेस नेता प्रकाशशरण महतले सभापतिको नेतृत्व र बहुमतका आधारमा राजनीतिक संयन्त्र बनाउने र  त्यसमार्फत महाधिवेशनको निर्वाचन प्रक्रियासँग सम्बन्धित सबै काम गर्न तयार भए पार्टीको जारी विवाद हल हुने दाबी गरे ।

महतका अनुसार सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले महाधिवेशनको निर्वाचन प्रक्रियामा जोडिने क्रियाशील सदस्यता, विधान संशोधन र अनुशासनसँग सम्बन्धित विषयहरू संयन्त्रलाई अख्तियार दिनुपर्नेछ । यी विषयमा सहमतिका आधारमा संयन्त्रमार्फत निर्णय गरेर अघि बढ्न तयार भए आफूहरू केन्द्रीय कार्यसमिति बाहिर बसेर पनि १५औं महाधिवेशनलाई एकता महाधिवेशेन बनाउन तयार हुने महतले बताएका छन् ।

२ साता अगाडि नेता शेखर कोइरालाले पनि महामन्त्री गुरुराज घिमिरेमार्फत यस्तै प्रस्ताव अघि सारेका थिए । घिमिरेले यस्तो प्रस्ताव पार्टीभित्रको एकताको मिलनबिन्दु हुनसक्ने र त्यसलाई नकारात्मक रुपमा नहेरिएको बताएका थिए । यद्यपि, त्यस दिशामा ठोस छलफल भने भइनसकेको उनको भनाइ छ ।

कांग्रेसको १५औं महाधिवेशन १६-१९ असोजमा काठमाडौंमा सम्पन्न गर्ने निर्णय भइसकेको छ । महाधिवेशनको सुरु भने २ भदौमा वडा अधिवेशनदेखि नै हुने तालिका छ ।

महतले महाधिवेशनको मुखमा नभई अब २/४ दिनभित्रै सहमति हुनुपर्ने बताए । ‘अधिवेशनको मुखमा होइन, अब यसै साताभित्र सहमति हुनुपर्छ । अहिल्यै छलफल गर्नुपर्छ । १५औं महाधिवेशनकै लागि गरिएका सदस्यता नवीकरणलाई समेत महाधिवेशनमा सहभागी गराउन सहमत हुनुपर्छ । यसबीचमा कोही पार्टी छोडेका र मृत्यु भएकाहरूको सदस्यता हटाउन सकिन्छ,’ महतले भने, ‘यति भयो भने असन्तुष्ट पक्षलाई मनाउन सक्छौं । नेतृत्व तयार भए यसैमा सहमति हुन्छ ।’ तर नेतृत्वले यस दिशामा छलफल नै अघि नबढाएको उनको आरोप छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरूले विशेष र त्यसअघिको केन्द्रीय कार्यसमिति समायोजन गर्नुपर्ने अडान राख्दै आएका थिए  ।

यसबीचमा सभापति थापाले पूर्वसभापति देउवा-खड्का र नेता शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । थप केही नेतालाई मनोनयन गरेर एकता कायम गर्ने प्रयासमा उनी छन् ।  तर असन्तुष्ट पक्षले पुरै समायोजन माग राख्दै आएको छ ।

महतले त्यसबाहेक तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिका १११ सदस्य बाहिरै रहेको बताए । नेता कोइराला र आफूले राखेको प्रस्ताव नेतृत्वमा स्वीकार्य भए आफूहरू सबै बाहिर रहेर पनि एकतामा जोडिने महतले बताए ।

असन्तुष्ट पक्षले एकता र छुट्टै पार्टी गठनको तयारी समानान्तर रुपमा अघि बढाएको छ । एकता हुन नसकेमा छुट्टै पार्टी गठनको समेत योजना उनीहरूको छ । त्यसका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोलेर तयारी अघि बढाइएको छ ।

महामन्त्री घिमिरेले भने तत्कालीन कार्यवाहक सभापति खड्कासँग सभापतिले छलफल गरिरहेको बताए । थापाले खड्कासँग भइरहेको छलफलबारे मंगलबार पार्टीका पदाधिकारीहरूलाई जानकारी गराएका थिए ।‘कुराकानी भइरहेका छन्, त्यसले मूर्तरूप लिन सकेको छैन,’ महामन्त्री घिमिरेले भने ।

दुई केन्द्रीय कार्यसमिति समायोजन गर्ने विषय स्वीकार गर्न नसकिने भए पनि राजनीतिक संयन्त्रका विषयमा थप छलफल गरेर मिलनबिन्दु खोज्न सकिनेबारे छलफल चलिरहेको उनको भनाइ छ ।

‘शेखर कोइराला दाइले पनि मसँगकै भेटमा यहिॅ कुरा राख्नु भएको हो, प्रकाश दाइको पनि धेरै अगाडिदेखिकै कुरा हो । यसलाई नमान्ने भन्ने छैन । औपचारिक रुप दिन कार्यदलनै बनाएर छलफल हुन सकेको छैन । नेतृत्व तहमै कुरा मिल्यो भने किन त्यसमा गइराख्न पर्‍यो भन्ने मात्रै हो,’ उनले थपे, ‘प्रस्ताव हाम्रोबाट पनि गएको छैन । अर्को पक्षबाट पनि कार्यदल बनाएर छलफल गरौं भन्ने प्रस्ताव आएको छैन । तर, भवानात्मक रुपमा एक हुनुपर्छ भन्नेमा हामीहरू धेरै निकट छौं, सबैले महसुस गरेका छौं ।’

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully