कानुनमन्त्री सोविता गौतमले भनिन्- 'मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो ।'
काठमाडौँ — संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको जानकारी दिइन् । 'मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो,' उनले भनिन् ।
यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो । जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको मन्त्री गौतमले जानकारी दिइन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकरम गिरीले भने मन्त्रिपरिषद्को निर्णय सचिवालयसम्म आइनसकेको बताए । मन्त्रिपरिषद्को निर्णय संसद् सचिवालय आइपुगेपछि सांसदहरूले स्वकीय सचिव नियुक्तिको बाटो खुल्नेछ ।
