रास्वपा केन्द्रीय सदस्य विजय जैरुले लेखेका छन्- 'आफ्नाले गरेको गलतविरुद्ध बोल्न नसक्नेहरू दास हुन् ।'
काठमाडौँ — सरकारले विभिन्न सरकारी नियुक्ति योग्यताका आधारमा नगरिरहेको भन्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विजय जैरुले आपत्ति जनाएका छन् ।
केन्द्रीय सदस्य जैरुले बुधबार सामाजिक संजालमार्फत् सरकारले गरिरहेका नियुक्तिमा असन्तुष्टि व्यक्त गरेका छन् । विगतमा योग्यताका आधारमा नियुक्ति हुने र जिम्मेवारी प्रदान गरिने भनेर पार्टीमा वकालत गरेको तर अहिले सरकारमा हुँदा भने त्यो सिद्धान्तअनुसार नभएको उनको भनाइ छ ।
'हिजो हामी अटोक्रेसी (निरंकुशता) विरुद्धको नारा लगाउँदै आज यहाँसम्म आइपुगेका हौं,' जैरुले भनेका छन्, 'आज धेरै सरकारी संस्था होस् या ठूला-ठूला नियुक्तिमा मेरिटोक्रेसी (योग्यताक्रम) होइन अटोक्रेसी देखिन्छ ।'
रास्वपा निर्माणमा सुरुवाती चरणदेखि लागेका आफूजस्ताका लागि यी गतिविधि पाच्य नभएको भाव केन्द्रीय सदस्य जैरुले सामाजिक संजालमार्फत् व्यक्त गरेका छन् । उनले प्रश्न गरेका छन्, 'डे-वान देखि निस्वार्थ भावनाले पार्टी बनाउन लागेकाहरूले कसरी बुझ्ने ?'
गलत गर्ने जोसुकै भएपनि त्यसका विरुद्ध बोल्नुपर्ने पनि जैरुको भनाइ छ । 'आफ्नाले गरेको गलतविरुद्ध बोल्न नसक्नेहरू दास हुन्,' उनले लेखेका छन् ।
