सुकुमवासीलाई स्थायी र सुरक्षित आवासको सुनिश्चितता गरिनुपर्छ : सांसद भट्टराई

सांसद सृष्टि भट्टराईले भनिन् - 'जोखिमबाट उद्दार गरिएका नागरिक फेरि जोखिममै पर्नु स्वीकार्य हुन सक्दैन ।' 

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Permanent and safe housing should be ensured for squatters: MP Bhattarai

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराईले मुलुकमा रहेका सुकुमवासी र भूमिहीनलाई स्थायी र सुरक्षित आवासको सुनिश्चितता गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद भट्टराईले सरकारको विपद्पूर्वको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने घटना भइरहेको पनि बताएकी छन् ।

सुकुमवासी र भूमिहीनलाई वासस्थानको व्यवस्थापनमा सरकार लाग्नुपर्ने सांसद भट्टराईको भनाइ थियो । 'वास्तविक भूमिहीन र सुकुमवासीको प्रमाणीकरणको काम प्रक्रियागत रूपमा अघि बढिरहेको छ,' उनले भनिन्, 'यस प्रक्रियालाई छिटो, पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गरी वास्तविक पीडितलाई स्थायी र सुरक्षित आवासको सुनिश्चितता गरिनुपर्छ ।' प्रक्रियाको नाममा सुकुमवासी र भूमिहीन नागरिकलाई आवास उपलब्ध गराउने काममा ढिलाइ गर्न नहुने पनि उनको भनाइ थियो ।  

सांसद भट्टराईले कीर्तिपुरस्थित सुकुमवासीलाई राखिएको सेल्टर डुबानमा परेको विषय पनि संसद्‌मा उठाएकी छन् । 'यस संसद्‌मा बोलिरहँदा मेरो मनमा बाढीमा भिजेका ती साना नानीबाबु, वृद्ध आमाबुबा र रातभर त्रासमा बिताएका परिवारहरूको पीडा अझै ताजा छ । कीर्तिपुरको होल्डिङ सेल्टर भएको घटना केवल प्राकृतिक विपत्ति मात्रै नभएर हाम्रो विपद् पूर्वतयारी आश्रयस्थलको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने घटना पनि हो,' उनले भनिन्, 'जोखिमबाट उद्धार गरिएका नागरिक फेरि जोखिममै पर्नु स्वीकार्य हुन सक्दैन । सरकारले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानको व्यवस्था गर्दै यस्ता होल्डिङ सेन्टरहरूको सुरक्षा मापदण्ड पुनरावलोकन गर्न आवश्यक छ ।'

काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट उठाएर सरकारले कीर्तिपुरमा राखेको थियो । जुन डुबानमा परेको थियो । 

कान्तिपुर

Link copied successfully