सरकारले मजदुर, निमुखा र प्रेसमाथि तानाशाही व्यवहार गरेको छ : सांसद राई

उनले भने, 'प्रधानमन्त्रीज्यू, तपाईं सुपर एक्सप्रेस वेमा होइन । लोकतान्त्रिक विधि र पद्धतिमा शासन चलाउनुस् ।'

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Government has behaved dictatorially towards workers, the poor, and the press: MP Rai

काठमाडौँ — श्रम संस्कृति पार्टीका सांसद आरेन राईले किसान, मजदुर, निमुखा र प्रेसमाथि तानाशाही व्यवहार गरेको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, 'प्रधानमन्त्रीज्यू, तपाईं सुपर एक्सप्रेस वेमा होइन । लोकतान्त्रिक विधि र पद्धतिमा शासन चलाउनुस् ।' उनले करारमा राखिएका कर्मचारीहरू हटाउन लागिएको विषयमा पनि सरकारसँग जवाफ मागेका छन् । उनले भने, 'यस्ता विषयमा सरकार सच्चिनुपर्छ ।'

सांसद राईले उपकुलपति नियुक्तिका विषयमा पनि प्रश्न उठाएका छन् । उनले नियुक्ति प्रक्रिया पारदर्शी नभएको पनि आरोप लगाए । उनले संविधान संशोधनको विषयमा बनाएको कार्यदल आफ्नो पार्टीले बहिष्कार गरेको बताउँदै सरकारले संविधानलाई धारेहात लगाइरहेको आरोप लगाए । उनले भने, 'यो संविधानमा उत्पीडित र सीमान्तकृतको अधिकार लेखिएको छ । होला, कहीँकतै कमजोरी भएको छ, त्यसमा समीक्षा गर्न सकिन्छ ।'

उनले सङ्घीयताको विषयमा सरकारले भ्रम छरेको आरोप लगाउँदै सङ्घीयता खर्चिलो भयो भन्ने भाष्यको खण्डन गरे । उनले प्रदेश तहका सांसद घटाउन सकिने र स्थानीय तहमा सुधार गर्न सकिने पनि बताए । उनले भने, 'सबै जातिको धार्मिक, सांस्कृतिक र भाषिक अधिकार सुनिश्चित गर्न पनि प्रदेशसभा चाहिन्छ ।'

कान्तिपुर

Link copied successfully