सबै प्रदेशमा एमालेसँग अलग्गिने कांग्रेसको निर्णय

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको उकुसमुकुसपूर्ण सहकार्यबाट मुक्त हुन चाहेको बताए ।

असार ३१, २०८३

कुलचन्द्र न्यौपाने

Congress decides to separate from UML in all provinces

काठमाडौँ — नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको छ । पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत सुरु भएको छ ।

स्रोतका अनुसार कांग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो । त्यसका दुई मुख्य कारणमा गत वर्षको जेन-जी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहारप्रति कांग्रेस असन्तुष्ट हुनु रहेको मुख्य कारण रहेको एक नेताले बताए ।

कांग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले जनाएको छ । त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिनेछ । स्रोतका अनुसार दुवै दलबीच समझदारी बने कांग्रेस माओवादीसँग मिलेर प्रदेश सरकारमा सहभागी हुनेछ । सहमति नजुटे केन्द्रमा जस्तै प्रदेशमा पनि विपक्षमा बस्ने रणनीति कांग्रेसले बनाएको छ ।

यसै विषयमा मंगलबार नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष दाहालबीच छलफल भएको थियो । छलफलमा केन्द्रमा सम्भावित नयाँ सत्ता समीकरणसँगै प्रदेश सरकारहरूको भविष्य, सत्ता साझेदारीबारे कुराकानी भएको स्रोतको भनाइ छ ।

यद्यपि, कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्ने वा नयाँ सत्ता समीकरण बनाउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन । दुवै दलका शीर्ष नेताबीच संवाद भने निरन्तर जारी रहेको स्रोतको दाबी छ । 

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको उकुसमुकुसपूर्ण सहकार्यबाट मुक्त हुन चाहेको बताए ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully