नेकपा सांसद रमेश मल्लले भने- '।त्रास सिर्जना गरेर सत्ता संचालन गर्न सकिन्छ भन्ने सरकार संचालकको टाउकोमा त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ । जुन जनताले मतादेश दिएर यहाँ पठाएको छ त्यै जनताले मतादेश फिर्ता लिनका लागि ठूलो आन्दोनल गर्ने दिन टाढा छैन ।'
काठमाडौँ — काठमाडौंमा सोमबार मिडिया हाउस र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाको घर अगाडि गाडी पार्किङ गर्ने कार्यका योजनाकारलाई खोजेर कारबाही गर्न नेपाली कम्युनिस्ट पार्टीले माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले मिडिया हाउस र नेताका घर अगाडि पार्किङ गरेर त्रास फैलाउने गाडीलाई राज्यले जफत गर्नुपर्ने र त्यो कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग गरे । 'हिजो मिडिया हाउस अगाडी एकाबिहानै गाडी तेर्स्याइयो । प्रमुख प्रतिपक्षी दलका नेताको घर अगाडि गाडी रोकेर जाने काम भयो । दिनभर के हो, कसो हो भनेर होहलल्ला भयो । प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरिएको रहेछ,' पार्टीको तर्फबाट बोल्दै मल्लले भने, '५ सयदेखि लाखौंको जरिवाना गर्छौं भन्ने, त्यो प्रस्ताव अगाडि सार्ने सरकारले आफैले सिर्जना गर्ने, आफैले त्यस्ता मान्छेलाई पठाउने र उनीहरूलाई ५ सय तिराएर घर पठडाउने गरेको छ । उनीहरूलाई लाखौं जरिवाना गर्नुपर्छ र गाडी जफत गरिनुपर्छ । त्यसका योजनाकारलाई छिटोभन्दा छिटो छानबिन गरेर कारबाही गरिनुपर्छ ।'
रास्वपाले उक्त घटनामा विज्ञप्ति निकालेर पन्छिन नहुने पनि सांसद मल्लको भनाइ थियो । 'सत्तारुढ रास्वपाले वक्तव्य निकालेर मात्रै जिम्मेवारी पूरा हुँदैन । सुत्तारुढ दलले यो विषयलाई गम्भीर रूपमा लियोस् । त्रास सिर्जना गरेर सत्ता संचालन गर्न सकिन्छ भन्ने सरकार संचालकको टाउकोमा त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ,' उनले भने, 'जुन जनताले मतादेश दिएर यहाँ पठाएको छ त्यै जनताले मतादेश फिर्ता लिनका लागि ठूलो आन्दोनल गर्ने दिन टाढा छैन ।'
जनताका आवाज उठाउने जेन-जी युवाहरूलाई आगामी दिनमा प्रदर्शन नगर्ने भनी कागज गराइरहेको विषयमा पनि मल्लले आपत्ति जनाए ।
