कांग्रेस सांसद सीता सांसद थपलियाले सोधिन्- 'मेयर हुँदा गरिबका साइकल लुटेर नष्ट गर्नुभयो । प्रधानमन्त्री हुँदा आज सुकुमवासीको घर भत्काउनुभयो तर व्यवस्थापन गर्नु भएन् । आज दैनिक मजदुरी गरेर खाने मान्छे बाँच्न नसक्ने बनाउनुभयो ।'
काठमाडौँ — काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार भएको गणेश नेपालीको आत्मदाह घटना बारे कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले प्रधानमन्त्री वालेन्द्र शाहको जवाफ आउनुपर्ने माग गरेकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद थपलियाले प्रधानमन्त्री जवाफदेही बन्नुपर्ने बताएकी हुन् । 'प्रधानमन्त्रीज्यू, तपाईंको शासनमा गरिबले बाँच्न नपाउने हो ? मेयर हुँदा गरिबका साइकल लुटेर नष्ट गर्नुभयो । प्रधानमन्त्री हुँदा आज सुकुमवासीको घर भत्काउनुभयो तर व्यवस्थापन गर्नुभएन । आज दैनिक मजदुरी गरेर खाने मान्छे बाँच्न नसक्ने बनाउनुभयो । यो सहर कसका लागि ?,' उनले सोधिन् ।
२०७९ माघमा प्रेम आचार्यले नयाँ बानेश्वर संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरका तत्कालीन मेयर शाहले राखेको धारणा स्मरण गर्न पनि सांसद थपलियाले आग्रह गरिन् । 'राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्न बाध्य भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारको क्रमना निधन भएको सुन्दा भावविह्वल भएकी छु तर प्रधानमन्त्रीज्यू आज मौन हुनुहुन्छ । हिजो प्रश्न गर्ने तपाईं अहिले कहाँ के गर्दै हुनुहुन्छ ?,' उनले सोधिन्, 'म तपाईंकै भाषामा सोध्न चाहन्छु- प्रधानमन्त्रीज्यू, के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आउँछ ?'
प्रचारप्रसारले जनताको यथार्थ अवस्था ढाक्न नसकिने पनि सांसद थपलियाको भनाइ थियो । उनले जिम्मेवारपूर्ण नेतृत्व बन्न पनि सुझाव दिइन् । 'नागरिकको पीडामाथि मौन बस्ने सरकार अन्ततः आफ्नै मौनताका कारण इतिहासको कठघरामा उभिन्छ र उभिनु पर्छ । जनताको विश्वास भाषणले होइन, व्यवहारले जितिन्छ,' उनले भनिन् ।
