'जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वीललक गरेको होइन । कुनै भिडियोमा छ ट्राफिकले ह्वीललक लगाएको ? नगर प्रहरीले लगाएको छ'- गृहमन्त्री गुरुङ
What you should know
काठमाडौँ — गणेश नेपालीको आत्मदाह प्रकरणमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रश्न उठाउने सांसदहरूलाई नै प्रतिप्रश्न गरेका छन् । उनले नेपाल सरकारको ट्राफिक प्रहरीले नेपालीको मोटरसाइकलमा ह्वीललक नगरेको पनि बताए ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालीको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने तथा घटनाको जानकारी दिने क्रममा गृहमन्त्री गुरुङले काठमाडौं महानगर प्रहरीले गर्दा उक्त घटना भएको बताएका हुन् । 'हाम्रो तीन तहको सरकार हुन्छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वीललक गरेको होइन । कुनै भिडियोमा छ ट्राफिकले ह्वीललक लगाएको ? नगर प्रहरीले लगाएको छ,' गुरुङले भने, 'म विपक्ष दलका माननीयहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ ? यो प्रदेश सरकार कसको छ ? अहिले रास्वपाको छ ?'
प्रदेश र स्थानीय सरकारको नेतृत्वमा विपक्षी दलहरू रहेको पनि गृहमन्त्री गुरुङको भनाइ थियो । 'दुई तहको सरकार त तपाईंहरूसँग छ । यो नियम, कानुन हामीले बनाएको हो ? तपाईंहरूले बनाएको, तपाईंहरूले कार्यान्वयन गर्न नसकेर हामीले देखाएको हो । त्यहि नियम कानुनमा टेकेको हो,' उनले भने ।
गणेश नेपालीको सम्बन्धमा काठमाडौं महानगरपालिकाको जिम्मेवारी रहेको पनि गृहमन्त्रीले बताए । उनले भने, 'जिम्मेवारी स्थानीय सरकारको थियो । स्थानीय तहको सरकार कसको छ अहिले काठमाडौंमा ? ह्वीललक लगाएको कसले हो ?'
सांसदहरूले प्रश्न उठाएको प्रति पनि गृहमन्त्री गुरुङले आपत्ति जनाएका थिए । उनले सांसदहरूले 'घाँटी सुक्नेगरी चिच्याइरहेको' भनेका थिए । उनले अगाडि थपे, 'म यो सदनलाई सोध्न्न चाहन्छु, कति जना हुनुहुन्थ्यो त्यो हस्पिटलमा, जति जनाले घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ ? घाँटी चिच्याएर कराएर मात्र हुँदैन सदनमा ।'
गृहमन्त्रीको यो भनाइ संसद्को रेकर्डबाट हटाउन पनि विपक्षी सांसदले माग गरेका थिए । नेकपाका सांसद गोपाल शर्माले सांसदहरूका आवाजलाई अपमानित रूपमा प्रस्तुत गरेको भन्दै गृहमन्त्रीको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।
