संवैधानिक आयोगका प्रतिवेदनमाथि संसदको पूर्ण बैठकमा नभई संसदीय समितिमा छलफल हुनुपर्ने कानुनमन्त्री सोविता गौतमको भनाइ थियो ।
What you should know
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गौतमले उक्त प्रतिबद्धता जनाएकी हुन् ।
संवैधानिक आयोगहरू कार्यपालिकासँग सम्बन्धित नहुने उल्लेख गर्दै मन्त्री गौतमले ती आयोगका सिफारिस कार्यान्वयन गर्नका लागि भने सरकार तयार रहेको बताइन् । 'सैद्धान्तिक पाटो हेर्ने हो भने संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले जवाफदेहिता हाम्रा संवैधानिक आयोगहरूले गरेका सिफारिस कार्यान्वयन गर्ने सवालमा मात्रै सीमित रहनुपर्ने भएकाले जति हाम्रा आयोगहरूका प्रतिवेदनहरू छन् । ती प्रतिवेदनहरूले दिएका सिफारिसहरू छन्, त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,' उनले भनिन् ।
संवैधानिक आयोगहरूले दिएका सिफारिस सरकारले कार्यान्वयन गरिरहेको मन्त्री गौतमको भनाइ थियो । संवैधानिक आयोगका सिफारिस सरकारले केही कार्यान्वयन गरिरहेको, केही कार्यान्वयनको चरणमा रहेको उनले बताइन् ।
त्यस्तै, संवैधानिक आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारले कानुन निर्माण गर्नुपर्ने अवस्था रहेको पनि बताइन् । उनले केही सिफारिस कार्यान्वयनका लागि व्यवहारमा नै सुधार गर्नुपर्ने उनको भनाइ थियो । सरकारले संवैधानिक आयोगका सिफारिस र प्रतिवेदन निरन्तर कार्यान्वयन गर्ने बताइन् ।
संवैधानिक आयोगको जवाफदेहिता संघीय संसदप्रति हुने पनि मन्त्री गौतमको भनाइ थियो । उनले पहिलो पटक राष्ट्रिय सभामा संवैधानिक आयोगको प्रतियवेदनमाथि छलफल भएको बताइन् । 'हाम्रो संसदीय अभ्यासमा निकै नौलो अभ्यास हामीले गर्यौं । यो विषमया हामीले राष्ट्रिय सभाको कार्यव्यवस्था बैठकमा पनि व्यापक छलफल गरी नै रहेका थियौं,' उनले भनिन् ।
संवैधानिक आयोगका प्रतिवेदनमाथि संसदको पूर्ण बैठकमा नभई संसदीय समितिमा छलफल हुनुपर्ने मन्त्री गौतमको भनाइ थियो । संवैधानिक आयोगका प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ सरकारले नभई आयोगका पदाधिकारीले दिँदा उपयुक्त हुने पनि उनले बताइन् । संसदीय समितिमा आयोगका प्रतिवेदनमाथि छलफल गर्दा पदाधिकारीलाई बोलाएर छलफल गर्दा उपयोगी हुने मन्त्री गौतमको भनाइ थियो ।
