सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन् ।
काठमाडौं — प्रतिनिधिसभाका सांसदहरूले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधनका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सुरुमा सांसद वासना थापालाई बोल्न समय दिएका थिए । थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन् ।
यस्तै उनले काठमाडौं उपत्यकाका ब्लूबस सञ्चालनका विषयमा साझाको हरियो रङको बसलाई निलो बनाएर चलाउँदैमा कसैको सुरक्षा नहुने पनि बताएकी थिइन् र सरकारले सकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको बताइन् ।
सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको र यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् ।नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको र उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने बताइन् ।
सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाए । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै सुविधा पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो ।
