जाँचबुझ समितिले भन्यो : जेठ १७ गते प्रतिनिधिसभामा संसदीय मर्यादा उल्लघंन भयो

जेठ १७ गतेको घटनापछि गठित समितिले अभिव्यक्ति हटाउने र बैठकबाट निष्कासन गर्न सभामुखलाई विशेषाधिकारको तत्काल प्रयोग गर्न सुझाव दिएको छ ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

The investigation committee said: Parliamentary decorum was violated in the House of Representatives on Jestha 17

What you should know

काठमाडौँ — प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सम्माननीय सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्न सुझाव दिएको छ ।

समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्थालाई सभामुखले कठोरतापूर्वक गर्नु गराउनुपर्ने आवश्यकता देखिएको सुझाव दिएको छ । 

समितिले सदस्यहरूले पालना गर्नुपर्ने गरी प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमहरूको पूर्ण परिपालना गर्ने गराउने विषयलाई स्वयं माननीय सदस्यहरू, संघीय संसद सचिवालय तथा सम्माननीय सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी, समितिले अभिमुखीकरण तथा आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापनमा सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण गर्ने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने, संसद् सचिवालयको जनशक्ति तथा प्रविधि सुदृढीकरण गर्ने, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व अभिवृद्धि गर्ने, नजिर व्यवस्थापन, सीसीटीभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा कार्यव्यवस्था परामर्श समितिको सक्रियता र प्रशासनिक सहजीकरणलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।

गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न जेठ १८ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले जाँचबुझ समिति गठन गर्न निर्देशन दिएका थिए ।

समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका थिए । 

समितिले स्थलगत मुचुल्काको अध्ययन, श्रव्यदृश्य प्रमाण संकलन, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित दस्तावेजहरूको विश्लेषण गरी प्रतिवेदन तयार पारेको हो । समितिलाई प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको थियो । समितिले गत जेठ २५ गते प्रारम्भिक प्रतिवेदन सम्माननीय सभामुख अर्याललाई बुझाएको थियो ।

समितिले उक्त दिनको घटनामा संसदीय मर्यादाको उल्लघंन भएको, नियमावली कार्यान्वयनमा कमजोरी देखिएको, संयमताको अभाव रहेको तथा व्यवस्थापकीय चुनौती विद्यमान रहेको निष्कर्ष निकालेको छ ।

जाँचबुझमा के-के देख्यो समितिले ?

जाँचबुझ समितिले जेठ १७ गते प्रतिनिधिसभाको बैठकभित्र भएको घटनासम्बन्धी प्रहरी मुचुल्का, सूचनापत्र, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीका बयान तथा अन्य सम्बन्धित दस्तावेजहरूको अध्ययन गरेको जनाएको छ । बैठक सुरु हुनासाथ प्रधानमन्त्री वालेन्द्र शाहले हात उठाई समय माग गर्नु भएकोमा समामुखवाट अनुमति भएपश्चात रोस्ट्रम पुगी  सांसदहरूलाई प्रश्नोत्तरका लागि आह्वान गरेका थिए । त्यसपछि  विपक्षी दलका सांसद युवराज दुलाल र  ऐनबहादुर महरले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ मिचिएको सम्बन्धमा नियमापत्ति गरेका थिए ।

तत्पश्चात् प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो ।  प्रधानमन्त्री बैठकबाट बाहिरिने क्रममा ध्रुव राईलगायतका केही विपक्षी सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुखबाट विपक्षी सदस्यहरूबाट भएको व्यवहारप्रति ध्यानाकर्षण भएको र आरेन राईको भाषा सुधार गर्न र सदस्यहरूको व्यवहारलाई मर्यादित बनाउनका लागि ध्यानाकर्षण भएको समितिले जनाएको छ । 

समितिले क्षतिको विवरणसमेत संकलन गरेको छ ।  सभामुख बस्ने कुर्सी अगाडिको टेबलको दायाँ कुना चर्किएको र उक्त टेबलको अगाडिपट्टि जोडिएको काठको बार फुटेको समितिले जनाएको छ । प्रतिनिधिसभा हलको उत्तरतर्फ रहेको छिर्ने ढोकाको दायाँ पल्लामा चोट लागेको र छेस्किनी फुटेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ  ।

समितिले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भङ्ग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानि नोक्सानी पुर्‍याएमा सभामुखले निजलाई बैठक कक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई निर्देशन दिन सक्ने जाँचबुझ समितिले उल्लेख गरेको छ । 

कान्तिपुर

Link copied successfully