रास्वपा र सभामुखले प्रधानमन्त्री शाहमाथि हस्तक्षेप गर्ने दिन आयो : नेकपा सांसद तामाङ

'प्रधानमन्त्रीको संसदभन्दा अर्को कुन ठाउँ छ बास बस्ने ? त्यो अर्को ठाउँ छैन । संसदमा आउनुपर्छ र आफ्नो कुरालाई सच्याउनु पर्छ,' नेकपा सांसद तामाङले भने ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

The day has come for the RSPB and Speaker to interfere with Prime Minister Shah: NCP MP Tamang

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र सभामुख डीपी अर्यालले हस्तक्षेप गर्ने दिन आएको नेपाली कम्युनिस्ट पार्टीले बताएको छ । नेकपाका सांसद परशुराम तामाङले पार्टीको तर्फबाट बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहमाथि हस्तक्षेप गर्न रास्वपाका नेता तथा सांसद र सभामुखलाई आग्रह गरेका हुन् । 

रास्वपाले नै शाहलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाएको उल्लेख गर्दै नेकपा सांसद तामाङले अब रास्वपाका सांसदहरूले आफ्नो भूमिका निर्वाह गर्न दिन आएको बताएका हुन् । 'म रास्वपाका नेता र सांसदहरूसँग अनुरोध गर्न चाहन्छु आफ्नो दलको नेतालाई संसद र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको पनि हो । हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौं,' तामाङले भने, 'रास्वपा, जसले उहाँलाई यो संसदको दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो अब रास्वपाले हस्तक्षेप गर्ने दिन आएको छ । त्यस्तै गरेर संसदको गरिमा र इज्जत, मर्यादा, यसको सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामुखकै हो ।'

सांसद तामाङले सभामुखले प्रधानमन्त्री शाहलाई संसदमा आएर आफ्नो अभिव्यक्तिको सम्बन्धमा स्पष्टीकरण दिनका लागि रुलिङ गर्नुपर्ने बताए । 'प्रधानमन्त्रीको संसदभन्दा अर्को कुन ठाउँ छ बास बस्ने ? त्यो अर्को ठाउँ छैन । संसदमा आउनुपर्छ र आफ्नो कुरालाई सच्याउनु पर्छ,' तामाङले भने । 

प्रधानमन्त्री शाहले जेठ १७ को प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहितविरुद्ध भएको पनि सांसद तामाङको भनाइ थियो । यस्ता अभिव्यक्ति संसद्‍मा आएर फिर्ता लिनुपर्ने र आफू जिम्मेवार नेता भएको स्पष्ट पार्नुपर्ने उनले बताए । 

'प्रधानमन्त्री व्यक्ति होइन देशको कार्यकारी प्रमुख र संसदको प्रथम नेता हुन् । उहाँको त्यो सम्मानित प्रधानमन्त्रीको पद र अधिकारको स्रोत यै सार्वभौम संसद र नेपालको संविधानभन्दा पर अर्को केही छैन,' सभामुखबाट रुलिङको अपेक्षा गर्दै सांसद तामाङले भने, 'नेपालको संविधानले पनि संसदप्रति अनुत्तरदायी प्रधानमन्त्री र त्यस्तो स्थिति हेरिरहनुपर्ने सभामुखको परिकल्पना गरेको छैन । यो देशमा कुनै शक्तिशाली सर्वोच्च निकाय छ भने त्यो यो संसद नै हो । यो सार्वभौम संसदको सम्मान गरिमा र विशेषाधिकारको उच्च महत्त्वपूर्ण जिम्मेवारी संविधानले सभामुखलाई नै दिएको छ ।'

विपक्षी दलहरूले बारम्बार प्रधानमन्त्रीको विषयमा संसद्‍मा विरोध गर्नु कसैका लागि पनि सही नहुने सांसद तामाङको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully