प्रधानमन्त्री वालेन्द्र शाहलाई रुलिङ गर्नुपर्‍यो, डाक्नपर्‍यो : एमाले 

एमाले सांसद राजेन्द्रकुमार राईका प्रश्न- 'यहाँ उठेका कुराहरूको उहाँले जवाफ दिनुपर्छ । सधैभरी हामीले आन्दोलन गर्नुपर्ने हो ? हामीले उठिराख्नुपर्ने हो ? कहिलेसम्म उठ्ने हो ?'

असार २४, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहलाई बोलाउनका लागि विपक्षी एमालेले सभामुख डीपी अर्यालसँग माग गरेको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले विपक्षी दलहरूले उठाइरहेका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्री शाहलाई संसदको बैठकमा बोलाउन माग गरेका हुन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले सीमानाका विषयमा प्रधानमन्त्री शाहले यसअघि बोलेका कुराकोजवाफ दिनका लागि सभामुखले रुलिङ गर्नुपर्ने बताए । '१ महिना १५ दिन भयो प्रधानमन्त्री वालेन्द्र शाहले यो रोष्ट्रममा विचार गर्नुभएको । त्यो कुरा असम्बन्धित भयो भनेर प्रतिपक्षले एक स्वरमा कुरा राख्दै आएका छौं,' राईले भने, 'प्रधानमन्त्री वालेन्द्र शाहलाई रुलिङ गर्नुपर्‍यो, उहाँलाई डाक्नपर्‍यो ।'

प्रतिनिधिसभा नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रधानमन्त्री शाहलाई संसदमा बोलाउनुपर्ने सांसद राईको भनाइ थियो । नियमावलीमा भएको व्यवस्था अनुसार सभामुखले प्रधानमन्त्रीलाई बोलाउनका लागि रुलिङ गर्नुपर्ने राईले बताए । उनले भने, 'यहाँ उठेका कुराहरूको उहाँले जवाफ दिनुपर्छ । सधैभरी हामीले आन्दोलन गर्नुपर्ने हो ? हामीले उठिराख्नुपर्ने हो ? कहिलेसम्म उठ्ने हो ? वालेन्द्र शाहलाई यो रोष्ट्रममा ल्याएर हिजो दिनुभएको विचारका लागि स्पष्ट पार्न भन्न चाहन्छु ।'

प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ को प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूमि मिचेको भनी अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको सम्बन्धमा स्पष्टीकरण र फिर्ता लिन माग गर्दै विपक्षी दलहरूले संसदमा आवाज उठाउँदै आएका छन् ।

त्यस्तै, सभामुखका सम्बन्धमा सांसद राईले बोलेका कुरा संसदको रेकर्डबाट हटाउन निर्देशन दिइएको छ । सभामुख अर्यालले आफ्ना सम्बन्धमा सांसद राईले बोलेका कुरा संसदको रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका हुन् । 

कान्तिपुर

Link copied successfully