सभामुख अर्यालसँग एमाले सांसद राईको नोकझोकपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’ भन्दै सांसद राईले भनेपछि सभामुखले बैठक रोकेका हुन् ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

House of Representatives meeting adjourned for 15 minutes after UML MP Rai clashed with Speaker Aryal

काठमाडौँ — प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।  एमाले सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनी आफनो अभिव्यक्ति दिन सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त भनाइप्रति आपत्ति जनाउँदै उनलाई बोल्न रोक लगाएका थिए । 

त्यसै क्रममा सभामुख अर्यालले अर्का विपक्ष दल नेकपाका सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिए पनि बोल्न चाहेनन् । 

त्यसपछि सत्तारुढ रास्वपाकी सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाएकी थिइन् ।  त्यसपछि फेरि सभामुखले उक्त अभिव्यक्तिको माफी माग्ने सर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिएका थिए ।

तर सांसद राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले ५ वर्षसम्म संसद चलाउने ढाँचा नल्याएको भनि फेरि आलोचना गरेका हुन् ।

उनको उक्त अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । ‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’ भन्दै सांसद राईले भनेपछि सभामुखले बैठक रोकेका हुन् । 

कान्तिपुर

Link copied successfully