उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस विधान अनुसार प्रतिष्ठानमा नीति, अनुसन्धान र समावेशी प्रतिनिधित्वलाई ध्यान दिँदै ८ सदस्य मनोनयन गरेका छन् ।
काठमाडौँ — कांग्रेस उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ जना सदस्य मनोनयन गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम सोमबार सदस्य मनोनयन गरिएको हो।
मनोनयन हुनेमा कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपांग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ, अल्पसंख्यक ह्योल्मो समुदायमाथि विद्यावारिधि गरेका प्रेमध्वज लामा, सार्वजनिक नीतिमा स्नातकोत्तर तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं छन् ।
त्यस्तै आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता सीताराम काफ्ले, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईं, मास कम्युनिकेसनमा स्नातकोत्तर मोहन गजुरेल तथा मास कम्युनिकेसन र पत्रकारितामा स्नातकोत्तर अनुपा श्रेष्ठ रहेका छन्।
प्रतिष्ठानले नीति अनुसन्धान, वैचारिक विकास र पार्टीको प्रशिक्षण प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञ तथा अनुभव भएका व्यक्तिलाई समेट्दै आएको छ। पछिल्लो मनोनयनले प्रतिष्ठानमा नीति, अनुसन्धान, कृषि, सञ्चार, समावेशिता र सार्वजनिक नीतिसम्बन्धी क्षेत्रको प्रतिनिधित्व थप विस्तार भएको कांग्रेसले जनाएको छ।
