उनले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद्मा हेलिकप्टरबाट उद्धार गर्ने भनी गृहमन्त्री सुधन गुरुङले संसद्मा प्रतिबद्धता जनाए पनि हालै सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर सञ्चालन गर्न नसकेकोमा आपत्ति जनाए।
‘आज मन्त्रीहरू हेलिकप्टरमा सवार हुँदा हुने, कर्णाली नदीमा मान्छे डुब्दा उद्धार गर्न नहुने?’ शाहीले प्रश्न गरे, ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन्? यसको जवाफ आज आउनुपर्छ। यसको जवाफका लागि सम्माननीय सभामुखज्यूले सरकारलाई रुलिङ गर्नुपर्छ। कर्णालीका नागरिकले बाँच्न पाउने अधिकार छ कि छैन? कर्णालीका युवाहरू यो देशको भविष्य हुन् वा होइनन्? कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो?’
राज्यले नागरिकको जीवन बचाउने कुरामा पनि संवेदनहीनता देखाएको गुनासो गर्दै उनले भने, ‘आकाशमा मन्त्रीहरू उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए, सभामुख महोदय। यो एउटा दुर्घटना मात्रै होइन, राज्यको संवेदनहीनताको सबैभन्दा ठूलो प्रमाण हो। त्यसैले सम्माननीय सभामुखमार्फत सरकारको स्पष्ट जवाफ माग गर्न चाहन्छु– कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो, सभामुख महोदय? फोन उठ्दैन। योभन्दा पनि डोल्पामा एक जना नागरिकको दुर्घटनामा ज्यान गयो। गृहमन्त्रीले यही आएर बोल्नुभयो, हेलिकप्टरले उद्धार गर्छ भनेर।’
