नयाँ सम्पर्क कार्यालयमा कांग्रेस असन्तुष्ट पक्षको बैठक, मुख्य एजेन्डा राष्ट्रिय भेला

संस्थापन पक्षले पार्टी एकतामा चासो नदिएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा र खड्का पक्षका नेताहरूले भेला बोलाएका हुन् ।

असार २२, २०८३

कुलचन्द्र न्यौपाने

Meeting of Congress dissident faction at new liaison office, main agenda is national gathering

काठमाडौँ — कांग्रेसको असन्तुष्ट पक्षको बैठक चुनदेवीस्थित नयाँ सम्पर्क कार्यालयमा सुरु भएको छ । 

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको बैठकमा नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, रमेश लेखक, वीरबहादुर बलायर, एनपी सावद लगायत छन् । नेता शेखर कोइराला र उनी पक्षीय नेताहरूको भने बैठकमा उपस्थित छैन । 

कांग्रेसभित्र ६ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष व्यवस्थापन नभएपछि असन्तुष्ट पक्षले चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो । संस्थापन पक्षले पार्टी एकतामा चासो नदिएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा र खड्का पक्षका नेताहरूले भेला बोलाएका हुन् ।

नेता महतले आजदेखि सुरु बैठकमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताए । 'पार्टीभित्र एकता निर्माण नभएमा केही कसरी अघि बढ्नेबारे एउटा निष्कर्ष निस्कन्छ,' उनले भने, 'बैठकको मुख्य एजेन्डा राष्ट्रिय भेला बोलाउने हो ।' १५औं महाधिवेशनको तयारी निष्पक्ष र स्वतन्त्र ढंगबाट हुनपर्नेमा संस्थापन पक्षले त्यसमा बेवास्ता आएको उनको भनाइ छ ।

असन्तुष्ट पक्षका नेता निधिका अनुसार यही कार्यालयबाट राष्ट्रिय भेलाको तयारी, नेताहरूबीच समन्वय तथा महाधिवेशनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिनेछ ।

पूर्वसभापति देउवा र खड्का पक्षीय नेताहरू अरू विषयमा सहमति हुन सकिने तर केन्द्रीय कार्यसमिति समायोजन हुनुपर्ने अडान लिँदै आएका छन् । नेता निधिले १४ औँ महाधिवेशन तथा विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई ‘मर्ज’ गरिनुपर्ने बताए । १४ औँ महाधिवेशनमा रहेको १६४ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये अहिले १११ जना केन्द्रीय कार्यसमिति बाहिर छन् । ती सबैको समायोजनको मुद्दा देउवा पक्षीय नेताहरूले उठाउँदै आएका छन् ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully