सोमबारदेखि चुनदेवीबाट सक्रिय बन्दै देउवा पक्ष

असन्तुष्ट पक्षको राष्ट्रिय भेला रोकेर एकता कायम गर्न नसकिए पार्टी विभाजनतिर जाने नेताहरूको भनाइ

असार २१, २०८३

कुलचन्द्र न्यौपाने

Deuba faction becomes active from Chundevi since Monday

What you should know

काठमाडौं — कांग्रेसभित्र ६ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष व्यवस्थापन नभएपछि असन्तुष्ट पक्षले सोमबारदेखि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै १५औँ महाधिवेशनको तयारी अघि बढाउने भएको छ ।

सम्पर्क कार्यालयमा सोमबार तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पहिलो बैठक बस्दै छ । बैठकमा १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा र खड्का पक्षमा रहेका तत्कालीन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।

असन्तुष्ट पक्षका नेता बिमलेन्द्र निधिका अनुसार कार्यालयको नाम ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ राखिनेछ । उनका अनुसार यहीँ कार्यालयबाट राष्ट्रिय भेलाको तयारी, नेताहरूबीच समन्वय तथा महाधिवेशनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिनेछ । उनले आफूहरू अझै पनि पार्टी एकताकै पक्षमा रहेको तर संस्थापन पक्षबाट त्यसअनुसारको राजनीतिक पहल नभएको बताए ।

अहिलेसम्म प्रत्यक्ष र अप्रत्यक्ष संवादका आधारमा एकताका कुनै सम्भावना देखिएको छैन । १५औँ महाधिवेशन हामीलाई पनि चाहिएको छ र उहाँहरू (संस्थापन पक्ष) लाई पनि चाहिएको छ । तर, अहिले सम्म एकताको महाधिवेशन हुने अवस्था देखिँदैन । मिल्ने प्रयास अन्तिम बेलासम्म पनि हुन्छ । मिलेन भने राष्ट्रिय भेला गर्छौ, त्यसपछिको बाटो भेलाले नै तय गर्छ । ‘अहिलेसम्म प्रत्यक्ष र अप्रत्यक्ष संवादका आधारमा एकताका कुनै सम्भावना देखिएको छैन । १५औँ महाधिवेशन हामीलाई पनि चाहिएको छ र उहाँहरू (संस्थापन पक्ष) लाई पनि चाहिएको छ । तर, अहिले सम्म एकताको महाधिवेशन हुने अवस्था देखिँदैन,’ निधिले भने, ‘मिल्ने प्रयास अन्तिम बेलासम्म पनि हुन्छ । मिलेन भने राष्ट्रिय भेला गर्छौ, त्यसपछिको बाटो भेलाले नै तय गर्छ ।’

खड्का निकट केन्द्रीय सदस्य श्याम घिमिरे राष्ट्रिय भेला नरोकिए पार्टी विभाजनमा जाने बताउँछन् । ‘जसरी विशेष महाधिवेशनमा गएपछि नयाँ कार्यसमिति बन्यो त्यसैगरी राष्ट्रिय भेला बोलाइसकेपछि त्यसै फर्कन गाह्रो पर्छ । त्यसले फुटकै बाटो समात्ने हो’ उनले भने, ‘त्यसलाई रोक्न संस्थापन पक्षले एक/डेढ साताभित्रै सहमति जुटाउनुपर्छ, पार्टी विभाजन हुन दिने कि रोक्ने भन्ने जिम्मा पार्टी सभापति गगन थापाको हातमा छ ।’

देउवा पक्षीय अर्का नेता मीन विश्वकर्माका अनुसार सहमति नभएमा १५औँ महाधिवेशन अलग–अलग हुने बताए । दुई महिना अगाडि नै केन्द्रीय कार्यसमितिले १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याई सकेको छ । अहिले क्रियाशील सदस्यताको अद्यावधि सकिएर नयाँ वितरणको काम भइरहेको छ । देउवा र खड्का पक्षीय अधिकांश नेताहरूले नै सदस्यता अद्यावधि गरेका छैनन् ।

‘पार्टी मिलेर गयो भने एउटै महाधिवेशन हुन्छ । मिल्न सकेन भने एकता महाधिवेशन नहुन सक्छ । दुईटा पक्षको अलग–अलग महाधिवेशन हुने अवस्था बन्छ’ तत्कालीन कार्यसमितिका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले भने, ‘अहिले संवादहीनताका वातावरण छ । अझै एकता गराउने हरतरहको कोसिस हुन्छ । भएन राष्ट्रिय भेलातिर जान्छ । त्यसपछि परिस्थिति अर्कै बन्छ ।’

यद्यपि, नेता शेखर कोइराला पक्ष भने देउवा पक्षले सञ्चालन गरिरहेको सम्पर्क कार्यालय, बैठक र प्रदेश भेलाबाट अलग छ । २१ फागुनको निर्वाचनपछि १७–१८ चैतमा संयुक्त भएको समीक्षात्मक बैठकपछि कोइराला देउवा–खडका पक्षको बैठक र भेलामा सहभागी छैनन् ।

कोइराला निकट नेता बद्री पाण्डेका अनुसार अब सहभागी हुने कुरा पनि छैन । प्रदेशका भेलामा समेत कोइराला सहभागी भएका थिएनन् । कोशीमा आफैले भेला गरेको बाहेक अरू प्रदेशका भेलामा कोइरालाका सहभागिता नभएको पाण्डेले बताए ।

‘एक पटकबाहेक अरू बैठकमा हामीहरू सहभागी छैनौँ, प्रदेश स्तरको भेलामा समेत शेखर दाइ जानु भएन । विराटनगरमा आफैले बोलाउनु भएको हो । त्यहाँ सबैलाई खुला गरिएको थियो । त्यसमा अर्को पक्ष (देउवा पक्ष) पनि सहभागी भएको हो,’ पाण्डेले भने, ‘अब हुने बैठक र भेलामा समेत जाने कुरा छैन ।’

उनका अनुसार कोइराला पार्टी एकताको मध्यमार्गी लाइनमा छन् । देउवा–खडका पक्षसमेतको बृहत् एकताका लागि भनेर कोइराला संस्थापन पक्षसँग नमिली अलग बसेका हुन ।

१८ असारमा निवासमै भेट्न पुगेका उपसभापति विश्वप्रकाश शर्मासँग कोइरालाले २५ असारसम्म पार्टी एकता गराउन जोड दिएका थिए । उक्त समयसीमाभित्र एकता नभएमा राष्ट्रिय भेलातिर जान सक्ने र त्यसले पार्टी विभाजन गर्ने सम्मको संकेत उनको थियो ।

कोइराला दुवै पक्षबीच एकताको मार्गचित्र पनि सुझाएका छन् । तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका पूर्वसभापति देउवा पक्षका १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न नसकेमा महाधिवेशन तयारी अघि बढाउने दुवै पक्ष सम्मिलित ‘संयन्त्र’ मात्रै बनाए पनि हुने विकल्प दिएका छन् ।

‘सबैसँग भेटेर कुराकानी गरीसकेपछि शेखर दाइले समस्या समाधान भएन भने परिस्थिति गम्भीर हुन्छ भनेर असार २५ भित्र समाधान खोज्न भन्नु भएको हो,’ पाण्डेले भने, ‘मलाई वरिष्ठ नेता चाहिँदैन । निष्पक्ष रूपमा महाधिवेशन होस र एकताका होस भनेरै उहाँले दुवै पक्ष सम्मिलित संयन्त्रको कुरा गर्नु भएको हो ।’

कोइरालाले संयन्त्रका अतिरिक्त निर्वाचन, सदस्यता छानबिन, अनुशासन र विधान संशोधन समिति बनाउँदा दुवै पक्षको सहभागितामा बनाउने र १० पुस २०८२ भित्र १५ महाधिवेशनका लागि नवीकरण भइसकेका सदस्यता सबैले महाधिवेशनमा भाग लिनुपर्ने विषय उठाएका छन् ।

तर, पूर्व सभापति देउवा र खडका पक्षीय नेताहरू अरू विषयमा सहमति हुन सकिने तर केन्द्रीय कार्यसमिति समायोजन हुनुपर्ने अडान लिँदै आएका छन् । नेता निधिले १४ औँ महाधिवेशन तथा विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई ‘मर्ज’ गरिनुपर्ने बताए । १४ औँ महाधिवेशनमा रहेको १६४ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये अहिले १११ जना केन्द्रीय कार्यसमिति बाहिर छन् । ती सबैको समायोजनको मुद्दा देउवा पक्षीय नेताहरूले उठाउँदै आएका छन् ।

‘मुख्य कुरानै १४ औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई गाभ्ने कुरा हो । त्यो नभएसम्म सहमति हुन सक्दैन’ निधिले थपे ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार पूर्व सभापति देउवा नेतृत्वको कार्यसमितिलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा ‘मर्ज’ गर्ने विषयमा भने सहमति हुन नसकिने बताए ।

विशेष महाधिवेशनबाट पारित विधानअनुसार सभापतिले ६१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । त्यस मध्ये १९ जनाको मनोनयन यसअघिनै भइसकेको छ । बाँकी ४२ जनामा निश्चित संख्या मात्रै समायोजन गर्न सकिने घिमिरेको तर्क छ ।

यसबाहेक इतर पक्षका नेता शेखर कोइराला र खड्कालाई वरिष्ठ नेता दिने प्रस्ताव सभापति थापाले राखिसकेका छन् । तर, दुवै नेताले आफूहरूलाई वरिष्ठ नेता नचाहिएको प्रतिक्रिया दिइसकेका छन् ।

एकताका लागि महामन्त्री घिमिरेले पनि कोइराला, खडका र अर्का नेता कृष्णप्रसाद सिटौलालाई गत साता भेटेका थिए । महामन्त्री घिमिरेले महाधिवेशन तयारीका लागि सभापतिकै नेतृत्वमा दुवै पक्ष सम्मिलत समिति बनाउने कुरालाई भने सकारात्मक रूपमा लिए ।

‘दुवै समिति मर्ज गर्ने कुरा, १११ सबैलाई केन्द्रीय कार्यसमितिमा ल्याउने कुरा असम्भव छ । तर, संयन्त्र बनाउने र महाधिवेशनसँग जोडिने सबै समितिमा दुवै पक्षको सहमतिमा बनाउने कुरामा छलफल गरेर सहमति जुटाउन सकिन्छ’ उनले भने ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully