सरकार संविधान र गणतन्त्र मास्नेतर्फ अगाडि बढिरहेको छ : दाहाल

संयोजक दाहाल भन्छन् : मैले अरूलाई भनेर सुख पाउँदिनँ । किनभने ३ चोटी प्रधानमन्त्री म आफैं भइसकेको छु ।  सबै मिलेर मलाई छिटो हटाइदिनुस् न भन्न पनि आउँछ कोही बेला । 

असार २१, २०८३

कान्तिपुर संवाददाता

Government is moving towards destroying the Constitution and the Republic: Dahal

काठमाडौँ — प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । 

नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको बताएका हुन् । 

'यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खवरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ,' उनले भनेका छन् । 

संयोजक दाहालले आफूहरूले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गरेको पनि उनले स्वीकार गरे । उनले भने, 'हामी बिग्रियौँ । त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्दछ । मैले अरूलाई भनेर सुख पाउँदिनँ । किनभने ३ चोटी प्रधानमन्त्री म आफैं भइसकेको छु । अरूलाई केही भनिनँ । त्यही भएर हैरान भएर मैले सबै मिलेर मलाई छिटो हटाइदिनुस् न भन्न पनि आउँछ कोही बेला ।’  

अध्यक्ष दाहालले आफूहरूले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताए ।

कान्तिपुर

Link copied successfully