बैठक संवैधानिक निकायको रिक्त पदहरूमा नियुक्ति सिफारिससम्बन्धी छलफल गर्न बोलाइएको हो
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बेलुकी ५ बजे बैठक बस्ने गरी परिषद्को बैठक बोलाइएको हो ।
बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिससम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, राष्ट्रिय मानवअधिकार आयोगमा एक सदस्य र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् ।
राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ । थारू आयोगमा अध्यक्षसहित दुई र मधेशी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा एक सदस्य पद खाली छ ।
यी पदमा नियुक्तिका लागि छलफल गर्ने बैठकको एजेन्डा रहेको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री शाह अध्यक्ष छन् भने प्रधानन्यायाधीश मनोजकुमार शर्मा,सभामुख डीपी अर्याल,राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाम्बे र उपसभामुख रुबीकुमारी ठाकुर सदस्य छन् ।
