गम्भीर समीक्षा र ग्यारेन्टीबिना तत्कालै एमालेसँग एकता हुँदैन : दाहाल

कार्यकर्तामाझ दाहालको आत्मसमीक्षा – प्रधानमन्त्री हुन कहिले कोसँग, कहिले कोसँग मिल्नु नेतृत्वको गल्ती भयो, माधवजी र म महाधिवेशनबाट हट्न तयार छौं ।

असार १७, २०८३

दीपक परियार

There will be no immediate unity with UML without serious review and guarantees: Dahal

What you should know

पोखरा — नेकपा संयोजक पुष्पकमल दाहालले तत्कालै एमालेसँग पार्टी एकता सम्भव नरहेको स्पष्ट पारेका छन् । 

पोखरामा बुधबार आयोजित गण्डकी प्रदेश समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले विगतको एकता नटिकेकाले गम्भीर समीक्षा र ग्यारेन्टीबिना तत्कालै एकताको सम्भावना नरहेको बताएका हुन् ।

पार्टी एकताका विषयमा कार्यकर्तामाझ व्यापक चासो र भ्रम रहेको चर्चा गर्दै उनले हतारमा एकता गर्नुभन्दा संसद्, सडक र निर्वाचनमा कार्यगत सहकार्य गर्दै अघि बढ्नुपर्ने रणनीति अघि सारे । ‘मैले यसो भन्दाखेरि कतिपय साथीहरूलाई भोलि नै पार्टी एकता घोषणा भइहाल्नेजस्तो लाग्छ, राष्ट्रिय सभागृह जाँदा पनि धेरैले मलाई सोधेका थिए,’ उनले भने, ‘तर अहिले पार्टी एकता सम्भव छैन । माधवजी (माधवकुमार नेपाल)ले भनेजस्तै सहकार्य र मोर्चा बनाउँदै जाँदा विचार र भावना मिल्यो भने भविष्यमा एकता हुनै सक्दैन भन्ने होइन, तर विगतको समीक्षा नगरी उस्तै तरिकाले एकता गरियो भने हविगत उस्तै हुन्छ ।’ उनले संसद्, सडक र आगामी निर्वाचनमा गरिने सहकार्यले मात्रै राजनीतिक परिस्थिति बदल्न सक्ने दाबी गरे ।

कार्यकर्तामाझ गम्भीर राजनीतिक तथा वैचारिक आत्मसमीक्षा प्रस्तुत गर्दै उनले शान्ति सम्झौता र संविधान घोषणा भएयता नेतृत्व र सिंगो पार्टी रणनीतिभन्दा कार्यनीतिको भुलभुलैयामा फसेको स्वीकार गरे । विगत २० वर्षको सिंहावलोकन गर्दै उनले पार्टीले दीर्घकालीन रणनीति छोडेर क्षणिक सत्ता स्वार्थ र कार्यनीतिमा मात्रै रमाउँदा आजको परिस्थिति निर्माण भएको बताए ।

‘विगतमा हामी जनवादी क्रान्ति, महिला, आदिवासी, दलित, मजदुर, किसानको अधिकारका लागि तछाडमछाड गरेर लड्थ्यौं तर अहिले आफ्नै पद, सुविधा र पैसा प्राप्तिका निम्ति तँछाडमछाड गर्ने भयौं,’ उनले थपे, ‘म यसमा कार्यकर्तालाई दोष दिन्नँ । यो ऐतिहासिक गल्ती माथिबाटै भएको हो, लिडरसिपबाटै भएको हो ।’

उनले नेतृत्व तह पटक–पटक प्रधानमन्त्री बन्न कहिले कांग्रेस, कहिले एमाले त कहिले मधेसी दलसँग मिल्न थालेपछि त्यसैको सिको गर्दै तल्ला कमिटीका कार्यकर्ता पनि प्रदेश, स्थानीय तह र वडासम्म जसरी पनि पद हत्याउने विकृतिमा फसेको टिप्पणी गरे । संविधान बनेपछि विचारको विकास गर्न छोडिएकै कारण पार्टी समाजवादी धारबाट विचलित भई व्यक्तिवादी, पुँजीवादी र अराजकतावादी स्वार्थमा लिप्त हुन पुगेको उनको स्वीकारोक्ति थियो ।

संयोजक दाहालले आगामी महाधिवेशन आफ्ना लागि सामान्य नहुने र यसलाई ‘लटरपटर’ तरिकाले नेतृत्व चयन गर्ने थलो मात्रै बन्न नदिइने दृढता व्यक्त गरे । विचार र संगठन दुवै हिसाबले पार्टीमा फेरि एकचोटि ‘क्रमभंग’ गर्नुपर्ने बेला आएको उनको भनाइ थियो । उनले पार्टीको रूपान्तरणका लागि आफू र नेता माधवकुमार नेपाल पदको मोह त्यागेर नयाँ नेतृत्वलाई बाटो छोड्न तयार रहेको घोषणा गरे ।

‘४०–४२ वर्षदेखि यिनीहरूले नेतृत्व ज्यान गए छोड्दैनन् भन्ने परेको छ भने तपाईंहरू ढुक्क हुनुहोस्, हामी छोड्न तयार छौं, हामीलाई यही नेतृत्वमा बसिराख्ने कुनै रुचि छैन,’ उनले भने, ‘तपाईंहरू मिलेर म र माधवजीलाई कि त सच्याउनुस्, नभए महाधिवेशनबाट हटाउनुस्, म सहयोग गर्छु । तर राष्ट्रिय स्वाधीनताको रक्षा र नयाँ वर्ग संघर्षका लागि जस्तोसुकै त्याग गर्ने संकल्प अब जरुरी छ ।’

चीन, भारत र अमेरिकाले उमेर र अनुभवको सन्तुलन मिलाएर फाइदा लिएको उदाहरण दिँदै उनले नेपालमा ‘रास्वपा’ शैलीको हठात् पुँजीवादी पुस्तान्तरणलाई कम्युनिस्ट आन्दोलनमा हुबहु स्वीकार गर्न नसकिने तर्क गरे । तथापि, पार्टीलाई युवामैत्री बनाउन आगामी महाधिवेशनसम्म तल्लो तहदेखि नै ५० प्रतिशत युवा प्रतिनिधिहरू अनिवार्य ल्याउने र चुनावी प्रतिस्पर्धाकै माध्यमबाट जुनियर–सिनियर नभनी लोकतान्त्रिक विधिबाट साना र चुस्त कमिटीहरू निर्माण गरिने नयाँ संगठनात्मक योजना उनले सुनाए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully