रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज, ५१ जनाको मनोनयन कहिले?

रास्वपामा वरिष्ठ नेतासहित १२ जना पदाधिकारीमा मनोनित हुनेछन् । प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित हुनेछन्।

असार १७, २०८३

जयसिंह महरा

The oath-taking ceremony of elected office bearers and central members of the Rashtriya Swayamsevak Sangh (RSS) is today, when will the nomination of 51 people be held?

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम आज हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको शपथपछि  अन्य  मनोनित गर्ने बाटो खुल्ने भएको छ ।

चितवनमा असार ७ देखि १२ गतेसम्म चलेको पहिलो महाधिवशेनबाट निर्विरोध निर्वाचित रास्वपा सभापति रवि लामिछानेले महाधिवेशनको समापनका क्रममा शपथ लिइसकेका छन् । लामिछानेलाई रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले पद तथा गोपनियताको शपथ गराएका थिए ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भने सभापति लामिछानेले पद तथा गोपनियताको शपथ ग्रहण गराउनेछन् । सभापति लामिछानेको सचिवालयले एक सूचनामा भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन सदस्यहरूको सपथ ग्रहण कार्यक्रम यही मिति २०८३ असार १७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा हुन गइरहेको ब्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।’

उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्रीहरू असिम शाह, निशा डाँगी र हरि ढकालका साथै ९३ केन्द्रीय सदस्यले शपथ लिनेछन् । रास्वपामा सुरुमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन भएको थियो । निर्वाचित ९९ केन्द्रीय सदस्य मध्येबाट नै पदाधिकारीका उम्मेदवार बनेर ६ जना निर्वाचित भएका थिए ।

रास्वपाका नवनिर्वाचित महामन्त्री विपिन आचार्यका अनुसार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएपछिको कुनै केन्द्रीय समिति बैठकमा सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नेछन् । पार्टी पदाधिकारीमा मनोनित गर्नुपर्ने नेताहरूलाई पहिला केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने विधानको व्यवस्था रहेको आचार्यले जानकारी दिए ।

‘पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएपछि केन्द्रीय समिति बैठकका लागि बाटो खुल्छ । त्यसपछि बस्ने केन्द्रीय समितिको कुनै बैठकमा सभापतिले मनोनयनका लागि नाम प्रस्तुत गर्नुहुन्छ, त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ,’ आचार्यले भने, ‘पदाधिकारीमा मनोनयन हुने नेताहरू पहिला केन्द्रीय सदस्यमा मनोनित हुनुपर्छ ।’

महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएपछि बैठक बसेर सभापति लामिछानेले बाँकी मनोनितको प्रस्ताव राख्नेछन् । रास्वपामा वरिष्ठ नेतासहित १२ जना मनोनित हुनेछन् । प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित हुनेछन् ।

मनोनित हुने बाँकी ११ पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ जना छन् । पदाधिकारी मनोनयनमा अनिवार्य समावेशी व्यवस्था गर्नुपर्ने विधानको व्यवस्था छ । मनोनित हुने पदमा कम्तिमा ४ महिला र सीमान्तिकृत समुदायको प्रतिनिधित्व २ हुनुपर्ने व्यवस्था छ । सीमान्तकृत समुदायमा आदिवासी, जनजाती, मधेसी, दलित, थारु, मुस्लिम, अल्पसंख्यक रहेको पनि विधानमा नै लेखिएको छ ।

रास्वपाको विधानले केन्द्रीय सदस्यमा एकैपटक ५१ जनालाई मनोनयन गर्नुपर्ने व्यवस्था गरेको छैन । केही नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर पदाधिकारीमा ल्याउन सकिने र बाँकी केन्द्रीय सदस्य अर्को चरणमा मनोनित गर्ने सम्भावना रहेको आचार्यले बताए । एकैपटक मनोनयन गर्ने कि चरणबद्ध रूपमा भन्ने अधिकार भने सभापति लामिछानेमा नै छ ।

केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहणसँगै चियापान कार्यक्रम राखिएको र त्यसपछि प्रशिक्षण कार्यक्रम पनि राखिने आचार्यले बताए । बुधबार शपथ लिएलगत्तै केन्द्रीय समिति बैठक बस्ने तयारी छ । सो बैठकमा केही नेताहरूलाई केन्द्रीय सदस्य र पदाधिकारीमा नियुक्त गर्ने सम्भावना रहेको रास्वपा नेताहरूले बताएका छन् । रास्वपामा शाहसँगै जोडिएका केही नेताहरूलाई पदाधिकारी र केन्द्रीय समितिमा मनोनित गर्ने तयारी छ । उपसभापतिमा सुनिल लम्साल, महामन्त्रीमा भुपदेव शाहलगायतलाई मनोनित गर्ने बताइएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूचीमा हेरफेर भएको छ । असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजित पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनमा हेरफेर गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले यसअघि केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएका दुई जनाको नाम सच्याएकाे छ । रास्वपाले जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरेको थियो । तर, रास्वपा केन्द्रीय निर्वाचन आयोगले श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको घोषणा गरेको छ ।

‘निर्वाचित हुनेको परिणाम घोषणामा भएको प्राविधिक त्रुटि सच्याउने सम्बन्धमा छलफल गर्दा प्रारम्भिक रूपमा प्रकाशन भएको केन्द्रीय सदस्य पदको निर्वाचनमा निर्वाचित भएका सदस्यमध्ये पहिलो नतिजा प्रकाशन गर्दा, महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकामा, मतपरिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकाले निज ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो,’ रास्वपा निर्वाचन आयोगको निर्णय छ ।

अर्कोतर्फ केन्द्रीय सदस्यको मतपरिणाममा पनि त्रुटि देखिएको भन्दै सच्याइएको छ । रास्वपाले प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको भन्दै त्रुटि सच्याएको हो ।

‘प्रादेशिक (भुगोलतर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोला निर्वाचित भएको हुनुपर्नेमा सोम शर्मा हुन गएकाले प्राप्त मतपरिणामको आवश्यक अध्ययन गरी पूजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल) तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो ।’

बास्तोलाले आफ्नो बढी मत हुँदा पनि केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा नगरिएकामा आपत्ति जनाउँदै आयोगमा उजुरी दिएकी थिइन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully