‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ,’ शर्माले भने, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जतिसक्दो चाँडो मुक्त हुनुपर्छ ।’
काठमाडौँ — कांग्रेस सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए । बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्यांक प्रस्तुत गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै प्रश्न गरे, 'आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् ?'
किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उनले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । काठमाडौं आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे स्पष्ट पारिदिनुपर्यो ।’
सरकारले ल्याउन लागेको सवारी तथा यातायातसम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाए । उक्त विधेयक कुनै दक्षिण भारतीय चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उनले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गरे ।
‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ,’ शर्माले भने, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जतिसक्दो चाँडो मुक्त हुनुपर्छ ।’
