लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिहरूबीच कार्यगत एकता आवश्यक छ :  अध्यक्ष ओली

एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको बताएका हुन् ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

Working unity is necessary between democratic, leftist and patriotic forces: Chairman Oli

What you should know

काठमाडौं — एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् । एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको बताएका हुन् । 

उनले भने, 'देशमा गरिएको बितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ । अध्यक्ष ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको र त्यस भ्रममा नपर्न नेताकार्यकर्ताहरुलाई आग्रह पनि गरे । ‘हामी समूहगत र संस्थागत एकता गर्दैनौं तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं’, उनले स्पष्ट पारे । अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने र विगतमा त्यो नदेखिएको बताए  । उनले भने, 'एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखियो ।' 

‘गत फागुन २१ गतेको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक हो’, अध्यक्ष ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र २ दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराधका घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको बताए ।

उनले गत भदौ २३ र २४ को घटना संविधान, लोकतन्त्र र हाम्राविरुद्धको आक्रमण र षडयन्त्र थियो भन्दै त्यो उपद्रव युवा विद्रोह, आन्दोलन थियो भन्ने भ्रममा नपर्न समेत आग्रह गरे । अध्यक्ष ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीहरुलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताए । 

अध्यक्ष ओलीले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै शत्रुहरूले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाए ।

कान्तिपुर

Link copied successfully