आर्थिक कारोबार पारदर्शी हुनुपर्ने, अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरुद्ध उभिनुपर्ने आचारसंहितामा उल्लेख।
What you should know
काठमाडौँ — नेकपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि नयाँ आचारसंहिता ल्याएको छ । नेता तथा कार्यकर्ताको आचरण र व्यवहारलाई पार्टीले अवलम्बन गरेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन आचारसंहिता जारी गरिएको नेकपाले जनाएको छ ।
यसअघि तत्कालीन माओवादीले पनि यस्तै आचारसंहिता ६ पटक ल्याए पनि लागू हुन सकेको थिएन । माओवादी र एकीकृत समाजवादी एकीकृत भई बनेको नेकपाले सोमबार नयाँ आचारसंहिता ल्याएको हो । नेकपाका नेता तथा कार्यकर्ताका अपारदर्शी आर्थिक गतिविधि, भड्किलो कार्यशैली, बिचौलियासँगको संगतले पार्टी कमजोर हुँदै गएको संयोजक पुष्पकमल दाहालले पटकपटक बताउँदै आएका छन् ।
‘आर्थिक कारोबार पारदर्शी ढंगले गर्ने, अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने, भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने,’ नयाँ आचारसंहितामा भनिएको छ, ‘समाजमा अनैतिक मानिने कुनै पनि कार्य नगर्ने । सबै प्रकारका हिंसा तथा शारीरिक एवं मानसिक शोषणका विरुद्ध उभिने ।’ पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक तथा नैतिक आचरण शुद्ध हुनुपर्ने पनि उल्लेख छ । ‘उनीहरूको खानपान, रहनसहन, उठबस तथा जीवनशैली सरल र सामान्य हुनुपर्छ,’ आचारसंहितामा भनिएको छ ।
जनतासँग सभ्य, मर्यादित, सम्मानजनक तथा समानतामूलक व्यवहार गर्ने, अश्लील तथा अपशब्दको प्रयोग नगर्ने, कुनै वर्ग, जाति, समुदाय, लिंग, क्षेत्र, धर्म वा संस्कृतिको गरिमा र मर्यादामा आँच पुग्ने अभिव्यक्ति वा व्यवहार नगर्ने आचारसंहितामा उल्लेख छ । वर्गीय, जातीय तथा लैंगिक विभेद नगर्ने, कुनै पनि प्रकारको छुवाछूतजन्य व्यवहार नगर्ने, विज्ञानमा विश्वास गर्ने तथा अन्धविश्वास र रुढीवादको विरोध गर्ने भनिएको छ ।
सांस्कृतिक विचलनका रूपमा लिइने अनैतिक शारीरिक सम्बन्धलाई संहितामा निषेध गरिएको छ । ‘पार्टीका नेता तथा कार्यकर्ताले समाजको दृष्टिमा अनैतिक मानिने कुनै पनि कार्य गर्नु हुँदैन । परपुरुष वा परस्त्रीसँगको अनुचित सम्बन्ध तथा वैवाहिक सम्बन्धबाहिरका शारीरिक सम्बन्धलाई अनैतिक आचरण मानिनेछ,’ संहितामा भनिएको छ ।
लामो समय माओवादी र संयुक्त जनमोर्चाको अनुशासन विभाग प्रमुखका रूपमा काम गरेका नेता अमिक शेरचन पटकपटक आचारसंहिता बने पनि पूर्णरूपमा कार्यान्वयन नभएको अनुभव सुनाउँछन् । ‘कम्युनिस्ट आन्दोलनमा भनाइ र गराइमा एकरूपता पाइएको छैन । नैतिक आचारणबारे सचेत भएका नेता तथा कार्यकर्ता पनि छन्,’ उनले भने, ‘तर कम्युनिस्ट अनुशासन पालना नगर्ने, दुराचारी काम, व्यवहार गर्ने, आफूलाई क्रान्तिकारी ठान्ने मान्छेहरूले कम्युनिस्ट पार्टी कमजोर बनाए ।’
पछिल्लो समय आफू सर्वहारा भन्ने नेताहरूको बसाइउठाइ, कार्यशैली, संगत पूर्णरूपमा पुँजीवादी देखिएको उनको भनाइ छ । ‘यस्तो प्रवृत्तिले क्रान्तिकारी आन्दोलन बाँच्न सक्दैन । मुख्य कुरा आर्थिक रूपमा पारदर्शी हुनुपर्छ । श्रमजीवी वर्गकै तहको आचारणमा रहनुपर्छ ।’
तत्कालीन माओवादीमा आर्थिक पारदर्शितासम्बन्धी प्रश्न उठेपछि साउन ०६९ मा शेरचनको संयोजकत्वमा आर्थिक अनुशासन र सम्पत्ति छानबिन समिति गठन गरिएको थियो । ‘पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न बनेको आयोगमा रहेर काम गरें । केही नेतालाई कारबाहीको सिफारिस गरें,’ उनले थपे, ‘सिफारिस कार्यान्वयन भएन ।’ शेरचनले नेताहरूको सम्पत्ति पारदर्शी गर्ने र विलासी जीवनशैलीमा रोक, लेभी र आर्थिक कारोबार पारदर्शी बनाउने, अपारदर्शी आर्थिक गतिविधि गरेका नेतालाई कारबाही सिफारिस गरेको थियो ।
