उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन कूटनीतिक, कानुनी र प्रशासनिक पहल तत्काल अगाडि बढाउनुपर्ने बताए।
काठमाडौँ — श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा)को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन कूटनीतिक, कानुनी र प्रशासनिक पहल तत्काल अगाडि बढाउनुपर्ने बताए।
‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्,’ उनले भने, ‘फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुनअनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्। साथै, खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस्। खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियमन कायम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समस्या निम्त्याउने राजनीतिक तथा प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस्। राष्ट्रिय टोली र क्लबका खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानुनी र प्रशासनिक पहल तत्काल अगाडि बढाइयोस्।’
सांसद राईले विद्यमान खेलसम्बन्धी ऐन र फिफाको नियमबीच रहेको अस्पष्टता हटाउने गरी कानुनी व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए।
