प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालबालिकालाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ–संस्था खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधानविपरीत बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नुपर्ने कि नपर्ने भनी सरकारलाई प्रश्नसमेत गरिन्।
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीमा परिचालन गरेको विषयले आफूलाई निकै गम्भीर र आश्चर्यचकित बनाएको बताएकी छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालबालिकालाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ–संस्था खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधानविपरीत बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नुपर्ने कि नपर्ने भनी सरकारलाई प्रश्नसमेत गरिन्।
‘सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएकोमा हार्दिक बधाई दिन चाहन्छु। तर एउटा तथ्यांकले भने निकै गम्भीर र आश्चर्यचकित बनाएको छ, सभामुख महोदय,' उनले भनिन्, 'रास्वपाको सदस्यता लिनेहरूको फेहरिस्त हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार २५७ जना हुनुहुँदो रहेछ। औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालप्रति नेपाली कांग्रेसको ध्यान तानिएको जानकारी गराउन चाहन्छु। नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको छ। के सत्तारुढ दलको हकमा संविधान र ऐनको व्यवस्था लागू नहुने हो, सभामुख महोदय? कि रास्वपा संविधानभन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो?’
सांसद काउचाले रास्वपा संविधान र कानुनभन्दामाथि नभएको र उसले पनि त्यसको पूर्ण पालना गर्दै अघि बढ्नुपर्ने बताइन्।
