अध्यक्ष लिङ्देनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नका लागि आफूलाई बदल्नुपर्ने पनि बताए ।
What you should know
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गरेका हुन् । उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नका लागि आफूलाई बदल्नुपर्ने पनि बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै । तर त्यसपछि हामी उठ्नको लागि अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ । हाम्रो संगठन संरचना, हाम्रो कार्यशैली, यसमा परिवर्तन गरेर हामी जानुपर्छ,' उनले भने, ;हामीले आम जनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी फेरियो, सुध्रियो भन्ने सन्देश दिनुपर्नेछ । त्यस किसिमको क्रियाकलापका लागि अब हामी तयार हुनुपर्छ ।'
उनले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताए । उनले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताए ।
पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उनको भनाइ छ । पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । उनले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।
'अब गुट उपगुटको कुनै नेताको पुच्छर समाएर यो पार्टीमा टिक्ने होइन, जनताको हात समाएर, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ,’ उनको भनाइ थिए । अध्यक्ष लिङ्देनले पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिए । राप्रपा महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गतेका लागि तोकिएको छ ।
