रास्वपा महाधिवेशन: कर्णालीबाट केन्द्रीय सदस्यमा ४ महिला

रास्वपाको प्रथम महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यमा ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

असार १२, २०८३

तृप्ति शाही

RSVP General Convention: 4 women elected as central members from Karnali

What you should know

वीरेन्द्रनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशबाट ४ महिला केन्द्रीय सदस्य बनेका छन् । बिहीबार भएको पार्टीको निर्वाचनबाट कर्णालीबाट सीता बादी, विनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही र प्रकाश न्यौपाने केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

रास्वपाको प्रथम महाधिवेशनमा कर्णालीबाट ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । यसअघि महिलालाई कोटामा मात्र समावेश गरिए पनि यसपटक प्रतिस्पर्धाबाट महिलानै अगाडि आउनु सकारात्कमक भएको नवनिर्वाचित केन्द्रीय सदस्य कठायतले बताइन् । पार्टीको चुननावले महिला एकता देखाएको उनले बताइन् । ‘पुरुषभन्दा महिला धेरै विजयी हुन सबैको साथले सम्भव भयो । अब मिलेर बढ्नुपर्छ भन्ने सन्देशका रुपमा लिएका छौं,’ उनले भनिन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेकी नवनिर्वाचित केन्द्रीय सदस्य बादीले सबैभन्दा बढी १ हजार ७ सय ५१ मत प्राप्त गरिन् । पूर्व सांसदसमेत रहेकी कठायतले १ हजार ५ सय, ल्हजोमले १ हजार १ सय ३५ मत प्राप्त गरिन् । शाहीले ७ सय ९८ मत प्राप्त गरिन् ।

बागमती प्रदेशबाट भने केन्द्रीय सदस्यमा पाँच महिला विजयी भएका छन् । बागमतीबाट प्रभा ढकाल, विदुषी राणा, आकाङ्क्षा पोख्रेल, अनिता श्रेष्ठ र पार्वती थापा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।  

महिला राजनीतिमा आउँन हुँदैन भन्ने सोच भएको अवस्थामा कर्णालीबाट धेरै महिला केन्द्रीय सदस्य चुनिनु सकारात्मक पक्ष भएको अधिवक्ता विनिता बोगटीले बताइन् । ‘यो परिवर्तनको संकेत हो,’ उनले भनिन्,‘ एक पार्टीको केन्द्रीय स्तरमा महिला आउनु राम्रो कुरा हो ।’ 

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ४९ जना महिला निर्वाचित भएका छन्। यससँगै पार्टीको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ४९.४९ प्रतिशत पुगेको छ।

केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला, समावेशी तथा सातै प्रदेशका क्षेत्रगत कोटाबाट गरी ९९ जना केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। तीमध्ये ४९ जना महिला छन्।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully