महामन्त्रीका अर्का उम्मेदवार मनिष झा भन्छन् : यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन, हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने
काठमाडौँ — रास्वपा महामन्त्रीका आकांक्षीहरूले धमाधम उम्मेदवारी फिर्तालाई अर्को उम्मेदवार समर्थन जनाएपछि मनिष झाले आलोकाँचो राजनीति गर्न नहुने प्रतिक्रिया दिएका छन् । महामन्त्रीका उम्मेदवार रहेका झाले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'परिणाम जेसुकै होस मेरो उम्मेदवारी कायम छ ।'
महामन्त्रीमा सबैभन्दा पहिले उम्मेदवारी आफैंले घोषणा गरेको उल्लेख गर्दै उनले भने, 'यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन । हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने । सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिइरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन् । फलानो फोन आएपछि सोचौँला भन्ने राजनीति हुँदैन । सबैभन्दा महामन्त्रीमा उम्मेदवारी गर्ने मै हुँ ।'
रास्वपा महामन्त्री पदका उम्मेदवार कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
चितवनमा जारी रास्वपा महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै उनीहरुले आफूहरुको समर्थन आचार्यलाई रहने घोषणा गरे । आचार्य निवर्तमान सहमहामन्त्री हुन् । उम्मेदवारी फिर्ताको घोषण गर्दै पराजुलीले जगदीश खरेल, शिशिर खनाल समेतले आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताए । राजुनाथ पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अब महामन्त्रीमा मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।
