तोशिमालाई छेउमा राखेर सोविताले भनिन्- स्वस्थ प्रतिष्पर्धा गर्‍यौं, मिलेर काम गर्छौं

७८९ मत ल्याउँदै उपसभापतिमा विजयी भएकी सोविता गौतमले प्रतिस्पर्धा सकिएपछि सबै एउटै परिवार भएर पार्टीलाई अघि बढाउने बताएकी छन्।

असार १२, २०८३

जयसिंह महरा

Keeping Toshima aside, Sovita said - We had healthy competition, we work together

भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा निर्वाचित सोविता गौतमले प्रतिस्पर्धा नतिजासम्म मात्र सीमित रहने भन्दै भोलिदेखि सबै एउटै परिवारका रूपमा अघि बढ्ने बताएकी छन् ।

निकटम प्रतिद्वन्द्वी डा. तोशिमा कार्कीको प्रशंसा गर्दै उनले भनिन्, ‘निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले स्वस्थ प्रतिस्पर्धा गर्‌यौं ।’ डा. कार्कीले पनि आफूहरू परिवार भएको बताइन् । 

कान्तिपुरसँग कुरा गर्दै उपसभापति गौतमले कार्कीलाई सक्षम नेतृका रूपमा सम्बोधन गर्दै भोलिदेखि पार्टीको नियमित काममा सँगै जोडिने बताइन् । अर्को प्रसंगमा उनले पार्टीलाई सरकारभन्दा माथि हुने भन्दै पार्टी नै मूल स्रोत भएको र मन्त्री वा अन्य पद पार्टीले जिम्मेवारी दिएपछि मात्र हुने बताइन् । ‘पार्टीको सिद्धान्त र नीतिले नै सरकार सञ्चालनलाई निर्देशित गर्ने भएकाले पहिलो प्राथमिकता पार्टी निर्माणमा हुनेछ,’ उनले भनिन् ।

सरकारलाई गतिमा राख्दै जनतालाई छिटो न्याय र समृद्धिको परिणाम दिन तत्पर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । पहिलो पटक पार्टीमा नयाँ टिम आएको उल्लेख गर्दै गौतमले यो टिमले पार्टीलाई कसरी अघि लैजाने भन्ने तय गर्ने बताइन् ।

शुक्रबार विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइनमार्फत गरेको मतदानबाट गौतम ७८९ मत ल्याएर उपसभापतिमा निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत ल्याएकी थिइन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully