पदाधिकारीमा सर्वसम्मति गराउने प्रयास असफल, निर्वाचनको तयारी

सभापति रवि लामिछानेले महाधिवेशनस्थलमै महामन्त्रीका उम्मेदवारसँग कुराकानी गरेका थिए। आफ्ना लागि सबै बराबर भएको भन्दै सकेसम्म मिलेर जान आग्रह गरेका थिए।

असार १२, २०८३

गौरव पोखरेल

Efforts to achieve consensus among office bearers fail, preparations for election begin

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका पदाधिकारी सर्वसम्मत बनाउन पहल गरे पनि सफल नभएपछि आज पदाधिकारी निर्वाचन हुने लगभग निश्चित भएको छ।

अहिले बिहान १० बजेदेखि मतदान गर्ने गरी तयारी भएको रास्वपाका एक नेताले बताए। सभापति लामिछानेले महाधिवेशनस्थलमै महामन्त्रीका उम्मेदवारसँग कुराकानी गरेका थिए। आफ्ना लागि सबै बराबर भएको भन्दै सकेसम्म मिलेर जान आग्रह गरेका थिए। तर, मिल्ने खालको स्थिति नदेखिएपछि निर्वाचनमा जाने निश्चित भएको ती नेताले बताए।

महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा उत्रिएका छन्।

त्यस्तै, खुला सहमहामन्त्री पदका दुई स्थानका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा हुने भएको छ।

सभापति लामिछानेसहित नेताहरूले महामन्त्रीमा सहमति जुटाउन गरेको प्रयास सफल नभएको हो।

लामिछानेसँगको छलफलपछि केही पदका आकांक्षीले भने उम्मेदवारी फिर्ता लिएका छन्। महामन्त्रीका उम्मेदवार शिशिर खनाल पछि हटेका छन्। पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिन आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।

खुला उपसभापति पदमा गरेको दाबीबाट विराजभक्त श्रेष्ठ पछि हटेका छन्। पार्टी सभापति रवि लामिछाने र अर्थमन्त्रीसमेत रहेका अर्का दाबेदार स्वर्णिम वाग्लेसँग परामर्शपछि श्रेष्ठ उम्मेदवारी दिनबाट पछि हटेका हुन्।

महिला उपसभापतिमा सोविता गौतम र तोशिमा कार्कीको उम्मेदवारी परेको छ। सुरुमा उपसभापतिको उम्मेदवार बन्न खोजेका समीक्षा बाँस्कोटा र इन्दिरा राना मगरले गौतमलाई समर्थन गरेका हुन्।

महिला उपसभापतिमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सभापति लामिछानेले आकांक्षीसँग छलफल गर्न स्वर्णिम वाग्लेलाई खटाएका थिए। पछि लामिछाने स्वयंले पनि कुराकानी गरेपछि बाँस्कोटा र राना प्रतिस्पर्धाबाट पछि हटेका हुन्।

उपसभापतिकी अर्की आकांक्षी बाँस्कोटाले पनि गौतमलाई समर्थन गरेकी छन्। उनले शीर्ष नेताहरूसँग भेटेपछि आफ्नो दाबी फिर्ता लिएकी हुन्। उनी संसदीय समिति सभापति र पार्टीमा केन्द्रीय सदस्य भइसकेको तथा भविष्यमा पार्टीमा थप जिम्मेवारी पाउनुपर्ने माग राखेकी थिइन्।

रास्वपाले पदाधिकारीको संख्या १९ पुर्‍याएको छ, जसमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ खुला, १ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (२ खुला, १ महिला, २ मनोनीत), प्रवक्ता १ (मनोनीत) र सहप्रवक्ता ३ (१ महिला, सबै मनोनीत) रहने व्यवस्था छ। 

कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था छ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully