खुला तथा समावेशी निर्वाचनपछि रास्वपाको केन्द्रीय कार्यसमितिमा ४९ महिला निर्वाचित भई पार्टी नेतृत्वमा महिलाको उल्लेखनीय उपस्थिति देखिएको छ।
सुर्खेत —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ४९ जना महिला निर्वाचित भएका छन्। यससँगै पार्टीको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ४९.४९ प्रतिशत पुगेको छ।
केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला, समावेशी तथा सातै प्रदेशका क्षेत्रगत कोटाबाट गरी ९९ जना केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। तीमध्ये ५० जना पुरुष र ४९ जना महिला छन्।
रास्वपाको विधानअनुसार केन्द्रीय कार्यसमितिमा राष्ट्रिय महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित सभापति, ९९ जना निर्वाचित केन्द्रीय सदस्य, सभापतिबाट मनोनित ५१ जना सदस्य तथा सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहनेछन् । सभापति पदमा उम्मेदवार भई कुल मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार स्वतः केन्द्रीय सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचित केन्द्रीय सदस्यमध्ये ३५ जना प्रदेशबाट र ६४ जना राष्ट्रिय स्तरबाट चयन हुने व्यवस्था छ । प्रदेशबाट प्रत्येक प्रदेशका पाँच जनाका दरले ३५ सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । प्रदेशबाट निर्वाचित हुने सदस्यहरूमध्ये कम्तीमा १४ जना महिला हुनुपर्नेछ । प्रत्येक प्रदेशबाट कम्तीमा २ जना महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
रास्वपाले खुला तथा समावेशी निर्वाचन प्रणालीमार्फत महिला सहभागितालाई उच्च प्राथमिकता दिएको देखिएको छ। संविधानले राज्यका निकायमा समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात् गरेको सन्दर्भमा रास्वपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व झण्डै आधा पुगेको छ। ९९ सदस्यीय समितिमा ४९ महिला निर्वाचित हुनु पार्टीको नेतृत्व तहमा लैंगिक सन्तुलनका दृष्टिले उल्लेखनीय भएको अधिवक्ता विनिता बोगटी बताउँछिन् ।
प्रदेशगत रूपमा हेर्ने हो भने बागमतीबाट निर्वाचित भएका केन्द्रीय सदस्य पाँचै जना महिला हुन्। यस्तै, कोशी, मधेश, लुम्बिनी र कर्णालीबाट ४ जना महिला विजयी भएका छन्। गण्डकी र सुदूरपश्चिममा ३ जना पुरुष र २ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भए।
महिलालाई कोटामा मात्र समावेश गर्ने गरिए पनि यो पटक प्रतिस्पर्धाबाट महिलाहरू अघि आउनु निकै सकारात्मक भएको कर्णालीबाट केन्द्रीय सदस्यमा निर्वाचित विनिता कठायतले बताइन्। 'महिलाको एकता चुनावले देखाएको छ,' उनले भनिन्, ‘पुरुषभन्दा महिला धेरै विजयी हुनुभयो। सबैको साथले यो सम्भव भयो। अब हामी अघि बढ्नुपर्छ भन्ने सन्देशका रूपमा हामीले लिएका छौं।’
महिला राजनीतिमा आउन हुँदैन भन्ने सोच भएको अवस्थामा कर्णालीबाट केन्द्रीय सदस्यमा जित हासिल गर्ने सबै महिला आउनु निकै सकारात्मक पक्ष भएको अधिवक्ता बोगटी बताउँछिन्। यो परिवर्तनको संकेत भएको उनले बताइन्। एक पार्टीको केन्द्रीय स्तरमा महिला आउनु राम्रो कुरा हो। उनले भनिन्, ‘अहिले महिलाहरूले चासो देखाएर राजनीतिमा आउनुभएको छ। अब अन्य पार्टी र क्षेत्रमा पनि यसरी नै महिला आउन जरुरी छ।’
पहिले महिलाको सहभागिता कम रहेकोमा यसपटक बढ्नु स्वागतयोग्य भएको रास्वपाका प्रदेश सभापति मदन खड्काले बताए। प्रतिनिधिहरूले महिलालाई अघि बढ्नका लागि सहयोग गर्नु राम्रो कुरा भएको उनको भनाइ छ।
यी हुन् रास्वपाका ४९ महिला केन्द्रीय सदस्य
१. सोविता गौतम
२. डा. तोसिमा कार्की
३. रञ्जु दर्शना
४. निशा डाँगी
५. इन्दिरा राना मगर
६. रिमा विश्वकर्मा
७. समीक्षा बास्कोटा
८. गीता चौधरी
९. लिमा अधिकारी आचार्य
१०. प्रकृति ढकाल
११. टिका संग्रौला (ज्वाला)
१२. क्रान्तिशिखा धिताल
१३. जमुना शर्मा
१४. सुशिला कार्की पोख्रेल
१५. आशिका तामाङ
१६. अनुष्का श्रेष्ठ
१७. निशा श्रेष्ठ
१८. कुशुम महर्जन
१९. करिष्मा कठरिया
२०. जुली यादव
२१. कामिनी कुमारी चौधरी
२२. सविना विक
२३. खिमा विक
२४. समिना मिया
२५. निशा मेहता
२६. शोभा कार्की
२७. कल्पना थापा
२८. सुजाता तामाङ
२९. सुस्मा बस्नेत
३०. सुनिता कुमारी चौधरी
३१. नमिता यादव
३२. मञ्जु सिंह
३३. प्रभा ढकाल
३४. विदुशी राणा
३५. आकांक्षा पोखरेल
३६. अनिता श्रेष्ठ
३७. पार्वती थापा
३८. पवित्रा थापा
३९. विष्णु कुमारी गुरुङ (एकता)
४०. कल्पना पाण्डे
४१. संगिता ढकाल
४२. ज्ञानु पौड्याल
४३. सर्मिला खनाल
४४. सिता बादी
४५. विनिता कठायत
४६. टासी ल्हाङ्गजोम
४७. मेनुका शाही
४८. जानीका जोशी
४९. चन्द्रा ऐर चाँदनी
