रास्वपाको केन्द्रीय समितिको मतदान जारी, २३ सय बढीले गरे मतदान

पहिलो चरणको मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ। त्यसपछि आजै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु गरिने निर्वाचन प्रमुख भुवन केसीले जानकारी दिए।

असार ११, २०८३

राजु चौधरी

Voting for the central committee of the Rashtriya Swayamsevak Sangh (RSS) continues, over 2,300 people cast their votes

चितवन —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागि मतदान जारी छ।

मध्यराति १२ बजेदेखि सुरु भएको पहिलो चरणको मतदानमा आज बिहान ९:३० बजेसम्म २ हजार ३ सयभन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।

पहिलो चरणको मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ। त्यसपछि आजै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु गरिने निर्वाचन प्रमुख भुवन केसीले जानकारी दिए। त्यसअघि पदाधिकारीमा सर्वसम्मतिको प्रयास पनि भइरहेको छ।

भोटिङ मेसिनमा उम्मेदवारको फोटो नहुँदा अन्योल
रास्वपाको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान भइरहेको छ। निर्वाचन समितिले भोटिङ मेसिनमा उम्मेदवारको फोटोसहितको नामावली रहने जनाएको थियो। तर, भोटिङ मेसिनमा अहिले उम्मेदवारको नाम मात्र हुँदा मतदाता अलमलमा परेका छन्।

मतदान गरेर निस्किएका प्रतिनिधि शशीकुमार ढकालले उम्मेदवारहरूको फोटोविहीन नाम मात्र हुँदा मतदानमा केही अलमल भएको बताए। नो–भोटको व्यवस्था नहुँदा क्लस्टरका सबै उम्मेदवारलाई अनिवार्य रूपमा भोट हाल्नुपर्ने अवस्था रहेको उनले बताए।

रास्वपा बागमती प्रदेशकी सहमहामन्त्री स्वस्तिका लामिछानेले विद्युतीय मेसिनबाट भोट हाल्न १०–१५ मिनेट लाग्ने गरेको बताइन्। सक्षम केन्द्रीय सदस्य छनोट गर्न केही समय धैर्यका साथ मतदान गर्नुपर्ने भएकाले समय लागेको उनको भनाइ छ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully