रास्वपा महाधिवेशन : गोप्य सूची र भोटिङ मेसिनको उम्मेदवार क्रमसंख्याले असन्तुष्टि

रास्वपाका एक नेताले कान्तिपुरलाई उपलब्ध गराएको सूचीमा, ५६ जनाको नाम छ, तीमध्ये कतिपय वालेन्द्र शाह पक्षबाट समायोजन भएर रास्वपामा गएकाहरु पनि छन् ।

असार ११, २०८३

गौरव पोखरेल

RSP General Convention: Dissatisfaction with secret list and candidate numbers in voting machines

What you should know

भरतपुर (चितवन) — कुनै समूहगत उम्मेदवारी नहुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रतिनिधिहरुलाई अज्ञात नम्बरहरुबाट मतदान गर्नुपर्नेको सूची जान थालेपछि असन्तुष्टि देखिन थालेको छ । 

रास्वपाका एक नेताले कान्तिपुरलाई उपलब्ध गराएको सूचीमा, ५६ जनाको नाम छ, तीमध्ये कतिपय वालेन्द्र शाह पक्षबाट समायोजन भएर रास्वपामा गएकाहरु पनि छन् । रास्वपाको ९९ केन्द्रीय सदस्य चयनका लागि गएराति १२ बजेबाट विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान सुरु भएको छ । मतदान सुरु भएको केही घन्टा पछाडि त्यस्तो सूची ह्वाट्स एपमा आएको पाएको ती नेताले बताएका छन् । 

रास्वपाका अर्का एक जना सांसद्ले विगतमा एमाले, कांग्रेस त्यही गुटगत राजनीतिका कारण विग्रिएको निष्कर्षसहित सामूहिक उम्मेदवारी नदिने भनिए पनि रास्वपामा झन् खराब अभ्यास देखिएको टिप्पणी गरे । ‘यसमा कुन तहको संलग्नता हो, पार्टीले छानबिन गर्नुपर्छ,’ उनले कान्तिपुरसँग भने, ‘कसैलाई बदनाम गराउन समेत यसो गरिएको हुनसक्ने सम्भवना रहेकाले समेत यो विषयलाई यत्तिकै छाड्नु हुँदैन ।’

RSP General Convention: Dissatisfaction with secret list and candidate numbers in voting machinesविद्युतीय मतदान गर्ने मेसिनको क्रमसंख्यामा समेत उम्मेदवारहरुले असन्तुष्टि जनाइरहेका छन् । रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल दर्ता भएकाहरुको नाम कसरी अगाडि आयो भनेर प्रश्न गरेका छन् । ‘मेरो नाम खुलातर्फको १३३ नम्बरमा रहेछ, के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो,’ उनले प्रश्न गरेका छन् ।

सांसद् यज्ञमणि न्यौपानेले पनि आफूभन्दा पछाडि फर्म भरेकाहरुको नाम अगाडि आएको देखिएको बताएका छन् । 'मेरो नाम खुल्ला सूचीको ४२ नम्बरमा रहेछ, अल्फाबेटिकल अर्डरसमेत मिलाएको होइन रहेछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

रास्वपा निर्वाचन आयोग प्रमुख भुवन केसीले भने उम्मेदवारमध्ये जसले जति नम्बरमा दर्ता गरेको हो, त्यही अनुसार क्रमसंख्या मिलाएर तथ्यांक इन्ट्री गराइएको दाबी गरेका छन् । उनले कान्तिपुरसँग भने, ‘हामीले अरु तलमाथि गरेको छैन ।’ 

सांसद् आशिका तामाङले मतदान गरेपछि कान्तिपुरसँग कुरा गर्दै आफूले चाहेर पनि नेतालाई चुन्नलाई गाह्रो हुने प्रणाली रहेको बताइन् । ‘मन लागोस् कि नलागोस् ६४ जनालाई नलाही अर्कोमा जानै पाइँदैन,’ उनले भनिन्, ‘मेरो आफ्नै नाम खोज्नलाई ५ मिनेट लाग्यो ।’ मतदान गर्ने मसिनमा तस्वीरसमेत राखिएको छैन । रास्वपा नेता हरि ढकाल चाहिँ तस्वीर राख्नतिर लागिएको भए थप समय लाग्ने भएकाले नराखिएको बताएका छन् । 

वालेन्द्र पक्षका एक नेताले चाहिँ बदनाम गराउनलाई त्यसो गरिएको हुनसक्ने दाबी गरे । ‘त्यो विषयमा खोजी होला,’ उनले भने । रास्वपामा केन्द्रीय सदस्यको निर्वाचनका लागि बिहीबार दिउँसो १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी चुन्ने व्यवस्था छ ।

सर्वसम्मत रुपमा नेतृत्व चयन नभए छुट्टै मतदान हुनेछ । पार्टी सभापतिमा चाहिँ सर्वसम्मत रुपमा रवि लामिछाने निर्वाचित भइसकेका छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully